
राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु. दुई अर्ब ५० करोडबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।
कुल सातवर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रूपमा सात प्रतिशतबराबर ब्याजदर प्राप्त गर्नेछन् । अंकित मूल्य रु. एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कुल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।
रु. दुई अर्ब ५० करोडबराबरको कुल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्यबराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।
यस्तै, ४० प्रतिशतले हुने रु. एक अर्बबराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्कासन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कुल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पुँजी रु. ३० अर्ब, जारी पुँजी रु. १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी रु. १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजारबराबर छ ।