
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार बाली कुर्न राखेको बुख्याँचाजस्तै भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले प्रदेशसँग सम्बन्धित आवश्यक कानुनहरू नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताए।
संघीय सरकारले आवश्यक कानुन बनाएर प्रहरी हस्तान्तरण नगर्दा प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा प्रदेश सरकारको भूमिका शून्य दाबी गरे ।
‘संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको छ । संघीय सरकारबाट आवश्क सहजीकरण नहुँदा प्रदेश सरकारले पर्फमेन्स दिन सकेको छैन,’ उनले भने, ‘संघीय सरकारकै कारण नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भइरहेको छ।’
मन्त्री लामिछानेले संघीय सरकारले चाडो भन्दा चाडो संघीय कानुन बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने बताए। प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐनलगायतका कानुनहरू नबनाउँदा प्रदेश सरकारलाई काम गर्न कठिनाइ भएको उनको भनाइ छ।
‘संघीय कानुन नबन्दा र शिक्षा विधेयक नआउँदा देशभरका शिक्षकहरू दुई हप्तादेखि आन्दोलनरत हुनुहुन्छ । यसले जनतामा राम्रो म्यासेज गएको छैन, मन्त्री लामिछानेले भने, ‘प्रदेशको हकमा पनि त्यस्तै भएको छ। संघले बनाइदिनुपर्ने कानुनहरू संघले नबनाइदिँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि केही भएन भन्ने जनतामा परेको छ। यसलाई समयमै चिर्न आवश्यक छ।’
संघीयतालाई सवल र प्रभावकारी बनाउन संघीय सरकारले जतिसक्दो छिटो कानुन बनाइदिनुपर्ने मन्त्री लामिछानेले बताए । उनले यतिवेला प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम तय गर्ने काममा केन्द्रित भएको पनि जानकारी दिए।