
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वर्षे कार्यकाल पूरा गरेका छन् । थपलिया संविधानको धारा २४५(३) बमोजिम ६ वर्षको पदावधि पूरा गरी शनिबारबाट सेवानिवृत्त हुँदै छन् । थपलिया ६ वैशाख ०७६ मा प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए ।
निर्वाचन आयोगले शुक्रबार एक समारोहबिच थपलियालाई बिदाइ गरेको छ । बिदाइ समारोहमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो उपहार प्रदान गरेका थिए ।
बिदाइ समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले ६ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताए।
यस अवधिमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका आवधिक निर्वाचनहरू, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचनहरू स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वस्फूर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको उनको भनाइ थियो ।
उनले स्वतन्त्रताको उद्घोषसँगै सुरु भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताउँदै आयोगले झन्डै ६ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा भएको र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको बताए ।
आयोगमा क्रियाशील रहँदा नेपालको संविधानबाट आयोगलाई प्राप्त कार्यक्षेत्रभित्र रही प्रचलित कानुनबमोजिम निष्ठा र इमानदारीपूर्वक आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न प्रयत्नशील रहेको उनको भनाइ थियो ।
बिदाइ समारोहमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको कुशल नेतृत्व तथा आयोग परिवार र सरोकारवालाबिचको आपसी समन्वय र क्रियाशीलताबाट निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार हुँदै गएको र कानुनी सुधार तथा नवीन चुनौतीहरूको सम्बोधनबाट आगामी निर्वाचन व्यवस्थापन अझै परिष्कृत हुने आशा व्यक्त गरे ।
बिदाइ समारोहमा थपलियाले ०७६ वैशाखदेखि ०८१ चैतसम्म निर्वाचन आयोगबाट सम्पादित प्रमुख कार्यहरूको विवरण रहेको निर्वाचन आयोगका ६ वर्ष शीर्षकको पुस्तिका सार्वजनिक गरेका थिए ।