
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)को अध्यक्षमा विनोद पाण्डे दोहोरिएका छन्। काठमाडौंमा बिहीबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाण्डे अध्यक्षमा पुनः निर्वाचित भएका हुन्।
नेपोनको उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे निर्वाचित भएका छन्। त्यस्तै, सचिव (संगठन विभाग)मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित भएका नेपोनले जनाएको छ। महिला उपाध्यक्ष भने रिक्त छ।
महाधिवेशनबाट ६ वटा आयोगले पनि नेतृत्व पाएको छ। लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाहकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपोनले राष्ट्रका सुरक्षा समस्याहरू पहिचान गर्ने तथा समस्या न्यूनीकरणमा मद्दत गर्ने भूतपूर्वहरूको अभूतपूर्व क्षमतालाई सुरक्षा र विकासमा जोड्न पहल गर्ने प्रतिबद्धता जनाए।
पाण्डे अवकाशप्राप्त सहायक रथी हुन्। ०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए।
कार्यक्रममा पोलिटब्युरो सदस्य एवं संगठनका पूर्वइन्चार्ज आनन्दप्रसाद पोखरेल, पार्टी केन्द्रीय सदस्य एवं संगठनका पूर्वइन्चार्ज यज्ञराज सुनुवार, पार्टी केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका नेता रचना खड्कालगायतको उपस्थिति थियो।