
सल्यानमा जिप दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन्। शुक्रबार बेलुका जिल्लाको शारदा नगरपालिका– १ श्रीनगरबाट हिवल्चा जाँदै गरेको लु.प्र. ०२–००१ ज ००११ नम्बरको जिप सिउनेटानजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा शारदा नगरपालिका– ११ की १८ वर्षीया दुर्गा नेपाली, सात वर्षकी एलिसा नेपाली, ५१ वर्षकी लक्ष्मी बुढाथोकी, ३५ वर्षकी टीका घर्ती, ३८ वर्षकी दुर्गा बुढाथोकी, ११ वर्षका निर्मल घर्ती, ४२ वर्षकी मायादेवी थापा, ४० वर्षकी निर्मला बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
यस्तै, ३८ वर्षीया गीता थापा, ६८ वर्षीय बुद्धिमान बुढाथोकी, चार वर्षीय सुरज राना, ७० वर्षीया डुमाकुमारी राना, २० वर्षीय आशिष राना, २९ वर्षीया कमला बोहरा, आठ वर्षीया कृक्षा रावत र तीन वर्षीया कृष्टि रावत पनि घाइते भएका छन्।
घाइते सबैको स्थानीय, यातायात व्यवसायी र प्रहरीको सहयोगमा उद्धार गरी श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक बस्नेतका अनुसार दुर्घटनामा घाइते भएका केहीको अवस्था मध्यम र अन्यको सामान्य छ। जिप उकालोमा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको हो।