
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०८४ को निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिको रूपमा उभ्याउने बताएका छन्। आज शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटमा पार्टीका स्थानीय नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
ओलीले मिसन ८४ मा एमालेलाई निर्णायक शक्तिको रूपमा उभ्याउने गरी लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले एमालेलाई सिद्धाउने भनेर पार्टी फुटाउनेलगायतका काम गर्दा पनि अघिल्लो निर्वाचनमा एमालेलाई राष्ट्रिय शक्तिको रूपमा उभ्याउन सकेको बताउँदै अबको निर्वाचनमा पनि जितको मानसिकताले चुनाव लड्ने गरी लाग्न निर्देशन दिए। त्यसका लागि पार्टीभित्र एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो। पार्टीले चलाएको जरा अभियानलाई जरासम्म पुर्याउन आग्रह गर्दै उनले पार्टीभित्र अन्तरविरोध नराख्न अनुरोध गरे।
प्रधानमन्त्री ओलीले जिल्लाको नाम नवलपुर राख्न पहल गर्ने पनि बताए। त्यसका लागि यहाँका जनप्रतिनिधिहरूले प्रदेश सरकारमार्फत सच्याइपाऊँ भनेर निवेदन दिन आग्रह गरे।
कार्यक्रममा एमाले नवलपुर र स्थानीय तहका प्रमुख एवं पार्टी कमिटी अध्यक्षहरूले विभिन्न माग राख्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अध्ययन गरेर माग पूरा गर्न लाग्ने बताए।
सो क्रममा प्रधानमन्त्रीले बुटवल–नारायणगढ सडक विस्तार कामको अनुगमन गर्ने भनिए पनि उनले गैँडाकोट खण्डको मात्र अनुगमन गरेर कामबारे जानकारी लिएका थिए।