
सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिइएको छ। शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँगको सहकार्यमा तालिम दिएको हो।
शुक्रबारदेखि महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिएको महासंघले जनाएको छ। महासंघका केन्द्रीय सचिव वीरेन्द्रराज विष्टले दुईदिने तालिममा सुदूरपश्चिम प्रदेशका नाैवटै जिल्लाका ८८ पालिकाभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिएको जानकारी दिए।
सचिव विष्टका अनुसार पहिलोपटक प्रदेशभरिकै सामुदायिक विद्यालयका अध्यक्षहरूलाई एकैपटक तालिम दिइएको हो। कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयवस्तु व्यावहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे। विष्टले महासंघबाट शिक्षा निर्देशनालयलाई आएको आग्रहअनुरूप कार्यक्रमम सञ्चालन गरिएको बताए।
महासंघका केन्द्रीय अध्यक्ष गुणराज मुक्तानले सार्वजनिक विद्यालयको वृत्तिविकासका लागि अध्यक्षहरूलाई शिक्षा अपरिहार्य रहेको बताए। उनले प्रदेशभरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग सरोकारवालाहरूलाई अन्तर्क्रिया गराएर थप विकासमा जोड दिए।
महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेमसिंह भाटले तालिममा सिकेका विषयवस्तु व्यवहारमा कार्यान्वयन गरे सामुदायिक विद्यालयको उन्नतिमा टेवा पुग्ने बताए।