
आन्दोलनरत शिक्षक महासंघ र प्रधानमन्त्री केपी ओलीबिच आज साँझ बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीले ७ बजे बैठकका लागि शिक्षक महासंघका प्रतिनिधिलाई बोलाएका छन् ।
महासंघले शुक्रबारको आन्दोलन सकिएपछि उक्त बैठकमा कस–कसलाई पठाउने भन्नेबारे छलफल गरिरहेको छ । शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्रीले नै बोलाएपछि बैठकमा सहभागी हुने बताइन् । ‘प्रधानमन्त्रीले नै बोलाएपछि हामी आफ्ना कुरा राख्न जान्छौँ, तर हामीले राखेको माग पूरा नहुन्जेल आन्दोलन रोकिँदैन, हाम्रो माग भनेको शिक्षा ऐन हो,’ उनले भनिन्, ‘बैठक बस्दैमा समाधान निस्किन्छ भन्ने त छैन ।’ शिक्षकहरूले विद्यालय शिक्षा ऐन मागेर सडकमा उत्रिएको १७औँ दिन पुगेको छ । यसअघि शिक्षामन्त्री र शिक्षासचिवसँग शिक्षक प्रतिनिधिहरू बैठकमा बसे पनि सहमति तथा वार्ता हुन सकेन । शिक्षकहरूले ऐन नआएसम्म आन्दोलन नछाड्ने अडान राखिरहेका छन् ।