
मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । यस्तै, १४ जना घाइते भएका छन् । मकवानपुर प्रहरिका अनुसार मकवानपुरगढी गाउँपालिका– २ धरमपानीस्थित कान्तिलोक पथ सडकखण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका- ७ की १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानीपुर गाउँपालिका- ५ की ५० वर्षीया नीलमदेवी राउत रहेका छन् । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको यात्रुवाहक इभी माइक्रो गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा रौतहट दुर्गा भवानिपुर- ५ बस्ने वर्ष ५५ का रामप्रकाश राउत, सर्लाही बरहथहवा- ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, सोही स्थान बस्ने वर्ष ४५ की रिकिदेवी राय, बरहथवा- ९ बस्ने वर्ष २७ को मनोज राय घाइते भएका छन् । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सर्लाही हरिहरपुर- १ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थान बस्ने वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सिर्जन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदीप रिसाल, विष्णुपुर- ३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराजकुमार साह, सोही स्थान बस्ने वर्ष ४२ की किसुनवर्ती साह, बागमती- ७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर, महोत्तरी गौशाला- ५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर घाइते भएका छन् ।
उनीहरू सबै मकवानपुर सहकारी अस्पतालमा उपचारत रहेका छन् । गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।