
हेटौँडा अस्पतालको बोर्ड तोडमोडको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न ६ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो।
उक्त घटनामा संलग्न सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
गत चैत ३१ मा हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै उनीहरूले अस्पतालको बोर्ड तोडमोड गरेका थिए। उनीहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्डसमेत टाँसेका थिए। सो घटनालगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको थियो।
घटनामा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आदेश गरे पनि उनीहरूलाई प्रहरीले भेटाउन सकेको थिएन। प्रहरीका अनुसार बोर्ड तोडमोड घटनामा संलग्न सबै फरार भएका थिए। प्रहरीले निरन्तर खोजतलास गर्दा पनि उनीहरूलाई भेटाउन सकेको थिएन। बिहीबार बिहान उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।