
सिंहदरबारभित्र गृह मन्त्रालय रहेको भवननजिकै अर्को नयाँ आकर्षक भवन तयार भएको छ । बाहिरबाट हेर्दा नै उक्त भवन सिंहदरबारकै भवनहरूमा फरक देखिन्छ । अगाडिको भागमा सिसा राखिएको भवनको भित्र कोठाका डिजाइनदेखि शौचालयलगायत संरचना पनि आधुनिक छन् । यो गृह मन्त्रालयकै नयाँ भवन हो, जहाँ चालू आर्थिक वर्षभित्रै मन्त्रालय सर्दै छ ।
बेसमेन्ट पार्किङसहितको भवन ८३ मिटर लामो छ । भवनको भुइँतलाको एकातर्फ पुस्तकालय तथा अर्काेतर्फ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र रहनेछन् । पहिलो तलामा जानका लागि तारे होटेलका भवनजस्तै दुईतर्फ ठुला भर्याङ निर्माण गरिएको छ ।
बेसमेन्ट पार्किङ २५०० स्क्वायर मिटर छ । जुन ३५० साना गाडी र डेढ सय मोटरसाइकल क्षमताको छ । यसले सिंहदरबारभित्रको पार्किङ समस्या पनि केही हदसम्म कम हुने मन्त्रालयका अधिकारी बताउँछन् ।
तर, पार्किङको प्रवेश गर्ने र निस्कने ठाउँ एउटै र साँघुरो भएकाले भने समस्या हुने देखिन्छ । भवनमा दुईवटा लिफ्ट छन् भने उत्तर र दक्षिणतर्फ आपतकालीन फलामे भर्याङ जडान गरिएको छ ।
तस्बिर : अमुल थापा/नयाँ पत्रिका