१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ४ बिहीबार o७:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : सुपर ओभरमा दिल्ली भाग्यमानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार o७:४८:oo

दिल्ली क्यापिटल्सले बुधबार १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित निकालेको छ । राजस्थानले सुपर ओभरमा १२ रन बनाएको थियो । दिल्लीले सुपर ओभरको ०.४ ओभरमा विनाविकेट १३ रन जोडेको थियो । जितसँगै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्लीले ६ खेलमा पाँच जित र एक हार सामना गरी १० अंक बनाएको छ । राजस्थान ४ अंकका साथ आठौँ स्थानमा रह्यो । 

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको राजस्थानले दुई विकेट गुमाएर १० रन बनाएको थियो । सिमरोन हेटमेयरले चार बलमा ६ रन बनाए । राजस्थानका दुई खेलाडी रनआउट भए । यसअघि दिल्लीले निर्धारित २० ओभरमा पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर १८८ रन बनाएको थियो । प्रत्युत्तरमा राजस्थानले २० ओभरमा चार विकेटको क्षतिमा १८८ रनको योगफल बनायो । दिल्ली र राजस्थानबिच १८औँ सिजनको आइपिएलकै पहिलो सुपर खेल रह्यो । राजस्थानले अन्तिम ओभरमा ९ रन बनाउनुपर्ने थियो । दिल्लीले ८ रन मात्र दिँदै खेललाई सुपर ओभरमा पुर्‍यायो । राजस्थानलाई अन्तिम बलमा २ रन आवश्यक थियो । ध्रुव जुरेल २ रन लिने क्रममा रनआउट भए । 

दुई अर्धशतकीय योगदान
राजस्थानले लक्ष्य पछ्याएको इनिङ्समा यशस्वी जैसवाल र नीतीश रानाले अर्धशतकीय योगदान दिएका थिए । जैसवालले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गरी ५१ रनको योगदान दिए । कप्तान सञ्जु सामसन रिटायर्ड हट हुँदा १९ बलमा ३१ रन बटुले । उनले दुई चौका तीन छक्का प्रहार गरे । नीतीशले २८ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५१ रन बटुलेका थिए । यसैगरी ध्रुव जुरेलले १७ बलमा दुई छक्का प्रहार गरी २६ रन बनाए । हेटमेयरले नौ बलमा १५ रन जोडेका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीको सुरुवात राम्रो भएन । शीर्ष क्रमका जाक फासेर ९ तथा करुण नायर शून्यमा आउट भएका थिए । यी दुवै ब्याट्सम्यान चार बलको अन्तरमा पेभेलियन फर्केका थिए । जाक र करुण आउट हुँदा दिल्ली ३.१ ओभरमा ३४–२ को अवस्थामा थियो । अभिषेक पोरेल र लोकेश राहुलले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरी दिल्लीलाई १२.४ ओभरमा ९७–३ को अवस्थामा राखे । क्रिजमा सेट हुन लागेका राहुलले ३२ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३८ रनको योगदान दिए । 

अभिषेक र त्रिस्तान स्तुब्सबिच चौथो विकेटका लागि केवल ८ रनको साझेदारी भएको थियो । दिल्लीका दोस्रो ओपनर अभिषेकले ३७ बलमा पाँच चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४९ रनको योगदान दिए । 

अभिषेक आउट हुँदा दिल्लीले १३.५ ओभरमा १०५–४ को प्रदर्शन गरेको थियो । स्तुब्सले कप्तान अक्षर पटेलसँग पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई १६.६ ओभरमा १४६–५ को स्थितिमा राखे । 

अक्षरले आफ्नो विकेट गुमाउँदा १४ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३४ रनको योगदान दिए । त्यसपछि आशुतोष शर्मा र स्तुब्सबिच छैटौँ विकेटका लागि नटआउट ४२ रनको साझेदारी हुँदा दिल्लीले पाँच विकेट गुमाएर १८८ रनको योगफल खडा गर्‍यो । आशुतोषले ११ बलमा १५ तथा स्तुब्सले १८ बलमा समान दुई छक्का र चौका प्रहार गरी ३४ रनको योगदान दिए । बलिङमा राजस्थानका लागि तुसार देशपाण्डेले ३२ रन खर्चेर दुई विकेट हात पारे ।