१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
२o८२ बैशाख ३ बुधबार १५:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किन्ने हो ऐँसेलु ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १५:४o:oo

कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्गछेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कतिपयका लागि आयआर्जनको स्रोत बनेको छ । पाखापखेराबाट दुःख गरी टिपेर ल्याएको ऐँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन् । वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ ।

पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ । हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकीजस्तै बन्ने गरेको छ । काँडेकी मनमाया विकले वनपाखा पुगेर ल्याएको ऐँसेलुलाई मल्लाताको हरियो पातमा बेरेर बेच्ने गरेको सुनाइन् ।

बिहानमा ऐँसेलु टिप्ने र दिउँसो राजमार्गमा ल्याएर बेच्ने गरेको उनले बताइन् । ‘ऐँसेलु बेचेको पैसाले सामान्य घरखर्चको जाेहो हुन्छ,’ उनले भनिन्, ‘बालबालिकाले कापीकलम किन्ने पैसा जुटाउँछन् ।’

काँडा छिचोलेर ऐँसेलु टिप्ने काम सजिलो भने नहुने उनीहरूको अनुभव छ । थोरै भए पनि नगद आर्जन हुने देखेर स्थानीयवासी ऐँसेुल बेच्न लालयित देखिएका हुन् । महिलाहरूले टपरीझैँ खिपेको सोली आकारको हरियो पातमा ऐँसेलु राखेर बेच्ने गर्छन् । एउटाको मूल्य रु. एक सय राखिएको छ । कुनै दिन त एकैजनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन् । दैनिक ज्यालादारी कामको भन्दा धेरै पैसा आउन थालेपछि ऐँसेलुतिर आकर्षित भएको महिलाहरू बताउँछन् ।

राजमार्गमा यात्रा गरिरहेका यात्रुले गाडी रोकेर ऐँसेलु किन्ने गर्छन् । कतिपयले चाख मानेर ऐँसेलु किन्ने गरे पनि कोहीले भने वास्तै नगर्ने स्थानीयवासीको बताउँछन् । ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ । घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ । अधिकांश सहरिया मानिसको रोजाइमा ऐँसेलु पर्ने गरेको छ । विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन् ।

लोकमार्गले छोएको कास्कीको फेदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्नेहरू भेटिन्छन् । बिदाका दिनमा बालबालिका पनि ऐँसेलु बेच्न निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिँदैनन् । शनिबारको फुर्सद पारेर बालबालिकाहरू गाउँनजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएर बेच्ने गर्छन् । पहिले–पहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाक्ने गरेको गरेको छ ।

ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने वनस्पतिविज्ञहरू बताउँछन् । वनमा यसै खेर जाने फलबाट लाभ लिन सक्नुपर्ने उनीहरूको भनाइ छ । मझौला काँडेदार बुट्यान (झाडी) मा ऐँसेलु फल्छ । पहाडी भेगको सात सयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफैँ उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ ।

वनस्पतिविज्ञका अनुसार ऐँसेलुमा भिटामिन सीसहित सूक्ष्म पोषक तत्त्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्ण रूपमा जैविक फल हो । यो फल नेपालको अधिकांश पहाडी भेगमा पाइन्छ । नेपालसहित भारत, चीन र पाकिस्तानमा समेत पाइने यो फल रङका आधारमा तीनथरीको हुन्छ । रासस