
‘नयाँ वर्ष नयाँ सोच युवाहरूका लागि छ प्रगतिको स्राेत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ। महोत्सव सुरु भएको सातौँ दिन बिहानसम्म करिब एक लाख ५० हजारजनाले अवलोकन गरेका छन् । भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यही गएको चैत २८ गतेदेखि ०८२ वैशाख ७ गतेसम्म महोत्सव सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन्।
नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव ०८१/८२ भक्तपुरमा ११ दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरू, खाद्यान्नका सामग्रीहरू, भाँडाकुँडाको साथै विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरू रहने अध्यक्ष महतले भने।
औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी तथा बिक्री भइरहेका छन् । मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि स्टलहरू छन्। महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानीय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजकको रहेको छ। महोत्सवमा साना बालबालिकाहरूका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरूका साथमा रोटेपिङ, रेन्जर, मारुती सर्कससमेत सञ्चालनमा रहेको संयोजक थापाले पत्रकार सम्मेलनमा बताए।
पर्यटकीय गतिविधि, स्थानीय खाना महोत्सवका साथै दैनिक रूपमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति छ । राष्ट्रिय स्तरका कलाकारहरूको हास्यव्यंग्य तथा नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षक बनेकाे छ। मेलामा बिक्री गरिने सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए ।
मल्लका अनुसार करिब पाँच लाखभन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने, महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपि विद्यार्थी ५० प्रतिशत र ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । साथै वैशाख १३ गते सोही स्थानमा चर्चित गायकगायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ– २०८२ को समेत आयोजना हुँदै छ ।