Skip This
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका सोलुखुम्बु
२o८२ बैशाख ३ बुधबार ११:५९:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार ११:५९:oo

वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथाले हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ।

वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीनजना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्।

राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो। ‘हिमाल आरोहण तथा दृश्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,’ रेन्जर श्रेष्ठले भने। पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटेल लजहरूको व्यस्तता पनि बढेको छ।

हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटेल पर्यटकले भरिभराउ छन्। अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन्। यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातायात व्यवसायीहरू बताउँछन्।

हवा र सडकमार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम

पहिले-पहिले सगरमाथा पुग्ने एक मात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो। तर, हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ। मौसम प्रतिकूल हुँदा हवाईजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुंगा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन्।

यहाँबाट बोलेरोबाट लुक्लानजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन्। निकुञ्ज क्षेत्रमा कार्यरत सवारीचालकदेखि होटेल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन्। अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन्। लुक्ला-मन्थली तथा काठमाडौं-लुक्ला हवाई सेवा प्रभावित हुनासाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको संख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए।

मौसम बिग्रियो भने काठमाडौंबाट सुमो जिपमार्फत आएका विदेशीहरूले सल्लेरी र फाप्लुको होटेल लजहरू भरिभराउ हुन्छ। काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन्। सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने र बोलेरो प्रयोग गर्ने गरेको सवारीचालक सन्तोष तामाङले बताए।

लुक्लानजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए। ‘लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ, तर अब लुक्लानजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो,’ उपाध्यक्ष शेर्पाले भने। यद्यपि, खुम्बु आउन चाहने केही पर्यटक भने मौसमका कारण अन्यन्त्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, ‘खुम्बु जाने सहज माध्यम भनेको हवाईजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको ‘भिसा’ लिएर आउने भएकाले मौसम प्रतिकूल हुनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ।’

निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहबर्द्धक

०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन्। कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो।

सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो। यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार ८४८ मिटरसम्मको उचाइमा छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रेसल्ला, ठिङ्ग्रेसल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन्।

कस्तुरी मृग, हिमाली भालु, हिउँचितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग र पहेँलो चुच्चे कागलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो। यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ।

मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौँ पयर्टक यहाँ आउने गर्दछन्। हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ। सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मंसिरसम्म हो।

नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण

चालू आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार ६०८ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन्।

गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मंसिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीनजना निकुञ्जको चेकपोस्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए।

पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु. ११ करोड ३२ लाख नौ हजार १०० राजस्व संकलन गरेको छ। भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन्। तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार आठ सय अन्य देशका पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्।

हाल दैनिक चार सय जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ। पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रूपमा फाइदा पुगिरहेकाे छ, तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन्।

पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, ‘अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ। सगरमाथा नेपाल र नेपालीको गौरव हो, सयो देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ।’