१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format o९:५३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५३:oo

वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा छन्। सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरू फर्केलान्, विद्यालय खुल्ला र विद्यार्थी भर्ना होलान् । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उहाँहरूलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ।

‘शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ,’ माई–जोगमाई गाउँपालिका– ५ मेग्माकी नुमा शेर्पाले भनिन्, ‘गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन्।’ उनी मात्रै होइन, उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ। यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । 

विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरू बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन् । पातलो बस्ती र जनघनत्व पनि कम भएको यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए। ‘घरबाट धाएर पुर्‍याउँदा टाढा हुन्छ । गत सालदेखि आफू उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु,’ सन्दकपुर गाउँपालिका– ५ कालपोखरीका ६९ वर्षीय निम लमूले भने । 

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा एकदेखि पाँचसम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा ०७२ सालमा बन्द गरिएको थियो । ‘सीमाक्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन,’ उनले भने । 

अहिले यस क्षेत्रबाट करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १८ देखि २० हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बताइन् ।  जौबारीको मात्रै होइन, माई–जोगमाई– २ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर– ५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर– ५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिए। 

भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने लामाको दुःखेसो छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालयनजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमाक्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकार भएका निकायले चासो देखाएका छैनन् ।