
प्रथम एलिट भलिबल कपको उपाधि पुरुषतर्फ पर्वत र महिलातर्फ आयोजकले जितेका छन्। राष्ट्रिय महिला भलिबल टोली कप्तान अरुणा शाहीले पोखरा–३, नदीपुरमा सञ्चालनमा ल्याएको एलिट भलिबल एकेडेमीको आयोजनामा सोमबार सम्पन्न फाइनल खेलमा पर्वतले पिरामिड कन्स्ट्रक्सन हङकङलाई ३–१ र आयोजकले बाग्लुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।
एकेडेमी सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यसहित २९ चैतदेखि सुरु प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वत तेस्रो सेटमा भने १७–२५ ले पछि परेको थियो । चौथो सेटमा २५–२२ को अंकसहित आफ्नो पक्षमा पार्दै पर्वतले उपाधिसँगै नगद एक लाख र उपविजेता पिरामिडले ५० हजार नगद र ट्रफी पुरस्कार पाए।
महिलातर्फ एलिटले २५–२२, २५–१६ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै उपाधिसँगै ५० हजार र उपविजेता बाग्लुङले २५ हजार नगद र ट्रफी पुरस्कार पायो।
प्रतियोगितामा पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मीना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै क्रमशः पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गरे। यसैगरी, विधागततर्फ पुरुषमा वेस्ट सर्भरमा रेशम छन्त्याल, वेस्ट सेटरमा विवश आले, वेस्ट ब्लकरमा सुगम विक, वेस्ट स्पाइकरमा सन्तोष विक र वेस्ट डिफेन्डरमा जितबहादर सार्की घोषित हुँदा महिलातर्फ वेस्ट सर्भरमा रिक्जना बोटे, वेस्ट सेटरमा रेविना घर्ती, वेस्ट ब्लकरमा विष्णु क्षेत्री, वेस्ट स्पाइकरमा सोइङ थापा र वेस्ट डिफेन्डर काजल श्रेष्ठ बनिन्।
विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीले दुई हजार र महिलाले एक हजार पाँच सय पुरस्कार पाए। महिला भलिबलका कप्तान शाहीसहित तीनजना मिलेर सञ्चालन गरेको एकेडेमीले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन्।