Skip This
राजनीतिक उद्देश्य प्राप्तिमा भूमिका खेलेकाहरूको दस्ताबेज ‘भुइँमान्छे’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक उद्देश्य प्राप्तिमा भूमिका खेलेकाहरूको दस्ताबेज ‘भुइँमान्छे’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १४:१६:oo

नेकपा एमालेकी नेतृ विन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ राजनीतिक उद्देश्य प्राप्तिका लागि पार्टी, संगठन र आन्दोलनलाई आगाडि बढाउने मान्छेहरूको दस्ताबेज भएको टिप्पणी गरिएको छ । 

आइतबार गाईघाटमा रहेको संगम पुस्तकालयले आयोजना गरेको ‘भुइँमान्छे’ पुस्तक परिचर्चा कार्यक्रममा सहभागी टिप्पणीकर्ताहरूले विशेष गरेर कम्युनिस्ट आन्दोलनलाई आश्रय, सुरक्षा र सम्पर्क सारथि बनेर खेलेको भूमिकालाई दस्ताबेजीकरण गरिएको टिप्पणी गरेका हुन् ।

पुस्तकको टिप्पणी गर्दै वरिष्ठ पत्रकार कौशल चेमजोङले पाँच भागमा विभाजित  पुस्तकले नेपाल कम्युनिस्ट पार्टीको स्थापना र विकास, फुट तथा एकता, मार्क्सवाद–लेनिनवाद (माले)काे विचार मान्ने समूहको गठन र विकास, कम्युनिस्ट पार्टी निर्माणमा तल्लो वर्गले पुर्‍याएको सहयोगसँगै पार्टीसँग जोडिएका अनुभव र अनुभूति समेटिएको टिप्पणी गरे । उनले भने, ‘पुस्तकमा केही घटनाक्रमहरू छुटेका छन्, तर समग्रमा पुस्तकले ‘खोलो तरेर लौरो बिर्सने पार्टी नेतृत्व’लाई प्रश्न गरेको छ ।’

पुस्तकले विशेष गरेर माले विचारमा आधारित कम्युनिस्ट आन्दोलनको इतिहास को–अर्डिनेसन केन्द्रलाई मूल मुद्दा बनाइएको चर्चा गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडाका सहप्रध्यापक रमेश रोक्काले पार्टी नेतृत्वमाथि प्रश्न चिह्न खडा गर्न नसक्ने लम्पट सर्वहारा वर्गको कथा समेटिएको बताए । उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनको एउटा पाटोको दस्ताबेज हो । अब नेतृत्वलाई प्रश्न गर्ने हिम्मत नेतृत्व निर्माणकर्ताले राख्नुपर्छ ।’

पुस्तक लेखक पाण्डे पनि एमाले अध्यक्ष केपी ओलीलाई फरक मत राखेकै कारण कारबाही भोगिरहेकी नेतृ हुन् । पुस्तकको टिप्पणी सुनेपछि लेखक पाण्डले माले विचारमा गोलबन्द हुँदै आएका कम्युनिस्ट विचारधाराको दस्ताबेजीकरण गरिएको बताइन् । 

उनले भनिन्, ‘कम्युनिस्टहरूको आन्दोलन झुपडीबाटै गोलबन्द हुँदै आएको हो । अब झुपडीबाटै टुटफुटलाई एकताबद्ध गर्न केही सुझाव पुस्तकले दिएको छ ।’ पाण्डेले पार्टी निर्माण गर्नेहरूले नेतृत्वमाथि शालीनतापूर्वक सशक्त रूपमा फरक मत राख्न पाउनुपर्ने मुद्दा सकेसम्म भुइँमान्छेमा प्रस्तुत गरेको बताइन् । उनले भनिन्, ‘भुइँमान्छेजस्ता पुस्तक माओवादी आन्दोलन (जनयुद्ध)का बारेमा पनि लेखिनुपर्छ ।’

पाण्डेले हाल एक हजार मात्र पुस्तक छापिएको बताउँदै पुस्तकमा छुटेका, बिग्रेका विषयवस्तुहरू दोस्रो संस्करणमा बजार ल्याउने उद्घोष गरेकी छिन् । उनले भनिन्, ‘यो पुस्तक कथाहरूको संकलन हो, विश्लेषण होइन ।’ 
पाण्डेका यसअघि ‘समानताका पाइलाहरू’ ‘धर्तीमाथिको दाबी’ र ‘संसदीय राजनीतिमा लैंगिक सहभागीता’ पुस्तक प्रकाशित छन् ।

पुस्तकको चर्चा–परिर्चापछि प्रगतिशील लेखक संघका केन्द्रीय उपमहासचिव बोधकुमार घिमिरेले पुस्तक भुइँमान्छे एकपटक सबैले पढ्नलाई सुझाव दिएका थिए । उक्त कार्यक्रममा राजनीतिकर्मी, बुद्धिजीवी, पत्रकार, साहित्यकार, प्राध्यापकहरूको सहभागिता रहेको थियो । माले विचारधारामा आबद्ध कम्युनिस्ट नेता–कार्यकर्ताबिच पुस्तकको समीक्षा गर्ने कार्यक्रमको सिलसिलामा लेखक पाण्डे आज आइतबार गाईघाट आइपुगेकी हुन् ।