
सरकारले पूर्वसर्तबारे स्पष्ट पारेपछि मात्रै वार्ता हुन सक्ने शिक्षक महासंघले अडान लिएको छ । महासंघले यसअघि सरकारले बोलाएको बैठकमा प्रतिनिधि पठाएर आफ्ना माग र ध्यानाकर्षण पत्र बुझाएको छ । तर, अब सरकारले शिक्षकका माग पूरा गर्न सक्ने आधार र सर्त राखेपछि मात्रै वार्तामा बसिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
‘हामी सरकारसँग वार्तामा बसेकै छैनौँ, ध्यानाकर्षण र मागबारे स्पष्ट पार्न प्रतिनिधि पठाएका हौँ, वार्ता यसै हुँदैन, आधार र सर्त चाहिन्छ,’ उनले भने, ‘हामीले राखेका पूर्वसर्तबारे सरकारले आफूलाई स्पष्ट पारेपछि मात्र वार्ता हुन सक्ने कुरा हामीले बारम्बार भनिरहेका छौँ, आजको आन्दोलनपछि सीक्षा बैठक रत्नराज्य मावि मध्यबानेश्वरमा ४ बजे बस्छौँ, हामीलाई थाक्ने सुविधा छैन, आठ महिना लगातार शिक्षक आन्दोलन भएका विश्व उदाहरणहरू छन्, हामी त आज बाह्रौँ दिनमा छौँ, हाम्रै देशमा राजनीतिक परिवर्तनका आन्दोलन पनि लामालामा भएका हुन्, परिणाम नलिई विद्यालय फर्कने सुविधा हामीलाई छैन ।’
महासंघले आन्दोलनमा आउन देशभरका शिक्षकहरूलाई आग्रह गरिरहेको छ । कतिपय शिक्षकहरू आन्दोलनमा सहभागी नभएको भन्दै महासंघले आन्दोलनमा आउनसमेत आह्वान गरिरहेको छ । बलियो उपस्थिति भयो भने आन्दोलन पनि बलियो हुने बताउँदै महासंघले देशैभरका शिक्षकहरूलाई आन्दोलनमा केन्द्रित आग्रह गरिरहेको छ ।