
प्रधानमन्त्री केपी ओलीले सबै कुराको जवाफ मिसन ८४ ले दिने बताएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बुटवलमा पार्टीले गरेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै अहिले पार्टी र नेतृत्वविरुद्ध चलाइएका भ्रमहरू चिर्न आवश्यक रहेको बताए।
पार्टी र नेतृत्वविरुद्ध अफवाह फैलाउन नक्कली अडियो–भिडियो बनाउने कामहरू भएको भन्दै उनले यस्ता भ्रम तोड्नुपर्नेमा जोड दिए। उपलब्धिहरूको प्रचारप्रसारमा जुट्नुपर्ने भन्दै उनले भने, ‘हामी आफ्ना प्रचारक आफैँ हौँ, सही कुरा जनतासामु राख्नुपर्दछ, भ्रम तोड्न जनतामा जानुपर्याे।’
पार्टी र नेतृत्वविरुद्ध भ्रम छर्ने क्रममा केही दिनअघि आफ्नो भाषण सुन्न छाडेर जनता हिँडेको भन्दै कुप्रचार गर्न खोजिएको उनको भनाइ थियो। अहिले सबै कुराको जवाफ नदिने भन्दै उनले सबै कुराको जवाफ मिसन ८४ ले दिने जिकिर गरे। उनले कार्यक्रममा सहभागीहरूलाई विकासको अभियन्ताका रूपमा अघि बढ्न पनि आग्रह गरे।
प्रधानमन्त्री ओलीले अब मुलुक पछाडि फर्कन नसक्ने भन्दै अन्धकारमा धकेल्ने कुचेष्टा नगर्न चेतावनी दिए। उनले अस्थिरताका कारण विकासले गति लिन नसकेको अवस्थामा स्थिरताका लागि ठुला पार्टी सत्तामा गएको भन्दै एमाले सत्तामा गएसँगै विकासले गति लिएको दाबी गरे।
कुलमान घिसिङलाई हटाएको विरोधमा भएका कार्यक्रमको पनि प्रधानमन्त्रीले आलोचना गरे। एउटा कर्मचारी निकाल्दा राजनीतिक पार्टीहरूको रुवाबासी भएको, आफ्नै कपाल लुछिलुछी रुने गरेको तथा भिक्षुहरू पनि देखिएको उल्लेख गर्दै उनले भिक्षुहरूले कानुन थाहा पाउनुपर्ने बताए। देशको कर्मचारीले नीति, नियम र कानुन पालना गर्नुपर्छ भन्ने कुरा पनि थाहा पाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले र एमाले नेतृत्वका विरुद्धमा भ्रम छर्ने काम भइरहेको भन्दै ती भ्रम चिर्दै अगाडि बढ्नुपर्ने बताए। विकास निर्माणको कामलाई गति दिँदै अर्थतन्त्र चलायमान बनाउँदै सरकार अगाडि बढिरहेको उनको दाबी थियो। प्रतिगामी तत्त्वहरूले जनताका समस्या समाधान गर्न नसक्ने प्रस्ट पार्दै उनले राजावादी तथा प्रतिगामी तत्त्वहरूको कुनै भविष्य नरहेको उल्लेख गरे।