१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार १७:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयको जग्गादाता परिवारलाई विभेद गरेको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १७:१७:oo

सिराहाको लहान नगरपालिका– ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माविको जग्गादाता परिवारले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र केही शिक्षकहरूले निरन्तर विभेद र अपमान गरिरहेको गुनासो गरेको छ । 

विद्यालय स्थापनाको ५०औँ वर्षको अवसरमा २४ फागुन ०८१ मा आयोजित स्वर्णजयन्ती समारोहमा विद्यालयपरिसरमा जग्गादाता हजुरबुबा दिवंगत रामदेव महतोको सालिक आफ्नै खर्चमा बनाएर राख्छु भन्दा ‘समयको चाप छ, सकिँदैन’ भन्दै नदिएको नाति विजयकुमार महतोले गुनासो गरे । ‘जबकि जग्गादातासमेत रहेका विद्यालयका तत्कालीन प्रधानाध्यापक लक्ष्मण मेहताको सालिक विद्यालयकै खर्चमा बनाएर राखियो,’ उनले भने । 

उनका अनुसार हजुरबुबाले आफ्नो घरमा भारतीय शिक्षक राखेर गाउँका विद्यार्थी भेला गरेर पढाउन थालेसँगै पूर्व–पश्चिम लोकमार्गनजिकै रहेको लहान –८ क कित्ता नम्बर ३२४ को चार कट्ठा जग्गा दिँदा विद्यालयको नामकरण हजुरआमा मालतीदेवी कुशावाहको नाममा ‘मालती अपर प्राइमरी स्कुल बिहारपुर’ राखिएको थियो ।

त्यसपछि २ असोज ०४८ मा तत्कालीन जिल्ला शिक्षा निरीक्षकको कार्यालयले २२ माघ ०४५ मा जिल्ला शिक्षा समितिको निर्णयबमोजिम भन्दै विद्यालयको नाम फेरेर प्रा.वि. रघुनाथपुर राखेको र आफ्नो हजुरबुबाको नाम विद्यालयको चन्दादाताको रूपमा राख्ने निर्णय भएको उनले बताए । 

‘त्यसको सक्कल प्रति मसँग सुरक्षित छ,’ उनले भने, ‘तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेशकुमार कुशवाहसहित अर्का दाता परिवारकी ललितादेवी कुशावाह र शिक्षिका रेणु सिन्हाको दबाबमा विद्यालयको दाता परिवारबाट हजुरबुबाको नाम हटाउने षड्यन्त्र भइरहेको छ ।’

अहिलेको बजारमूल्यअनुसार पनि करिब तीन करोड मूल्य पर्ने लोकमार्गनजिकैको जग्गामा विद्यालयको भवन निर्माण गरी सञ्चालन भइरहेको, तर आफ्नो हजुरबुबाको योगदानलाई अवमूल्यन गर्न खोजिएको उनको गुनासो छ । 

दाता तीन, एकजनाको मात्र सालिक 

उनका अनुसार समिति, विद्यालय प्रशासनले विद्यालयका प्रायः औपचारिक कार्यक्रमहरूमा दाता परिवारको रूपमा निम्त्याएर अपमानित गर्दै आएको छ । ‘विद्यालय स्थापनाको ५०औँ वर्षको अवसरमा गत २४ फागुनमा आयोजित स्वर्णजयन्ती समारोहमा अन्य जग्गादाताहरूलाई विशिष्ट अतिथिदीर्घामा राखियो, तर मलाई अपमानित गर्दै सामान्य अतिथि मात्र बनाइयो ।’ 

स्वर्णजयन्तीको अवसरमा विद्यालय प्रांगणमा स्मारक निर्माण चन्दा सहयोग र विद्यालय कोषको रकम खर्चिएको भए पनि शिलालेखमा जग्गादाता ललिता कुशवाह, प्र.अ. र विद्यालय व्यवस्थापन समितिको नाम मात्र राखिएकोप्रति आपत्ति जनाउँदै उनले शिलालेखमा विद्यालय परिवार लेखिनुपर्ने माग गरेका छन् ।

नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउतले विद्यालय दाता परिवारको पहिचान र योगदानको कदर गर्दै दाता परिवारको मागबमोजिम सालिक निर्माणसहित यथोचित सम्मान हुनुपर्ने बताए । 

विद्यालय निर्माणका लागि लहान नगरपालिकाले एक बिघा ११ कट्टा चार धुर, तत्कालीन प्र.अ. मेहता र उनकी श्रीमती ललितादेवी कुशवाहाले तीन बिघा नौ कट्ठा दुई धुर र रामदेव महतोले चार कट्ठा जगा दिएको अभिलेख रहेको विद्यालयका प्र.अ. शिवशंकर महतोले बताए ।

‘विद्यालय व्यवस्थापन समिति र स्थानीय समाजले भनेअनुसार विद्यालय सञ्चालन भइरहेको छ,’ उनले भने ‘स्वर्णजयन्तीको अवसरमा दाताको सालिक राख्ने पनि समितिसहित स्थानीय समाजको निर्णयअनुसार गरिएको हो ।’