१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार o६:३३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चट्याङ लागेर २४ घण्टामै आठको मृत्यु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o६:३३:oo

चट्याङ लागेर २४ घन्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो । 

सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिका– १, तल्लोकुटीकी बिरु सार्कीका नौमहिने छोरा दृष्टि, डोटीको सायल गाउँपालिका– ६ की ३३ वर्षीया कमला नागरी र बझाङको बित्थडचिर गाउँपालिका– ३ का ७८ वर्षीया धौली बोहराको मृत्यु भएको छ । उनीहरूको बुधबार राति मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए ।

कोशीमा झापाको गौरादह नगरपालिका– ५ मा ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पाँचथर मिक्लाजुङ घर भई गौरादह बस्ने लावतीलाई बुधबार घरमै खाजा खाने क्रममा चट्याङ लागेको हो । त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका– १, होक्लाबारी मामाघर गएका सुनसरीको इटहरी उपमहानगरपालिकाका १२ वर्षीय आविष्कार बरालको पनि चट्याङमा परेर बुधबारै ज्यान गएको छ ।

घाइते अवस्थामा विराट टिचिङ अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो । त्यस्तै, लुम्बिनीमा अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका– १०, लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्ती र रोल्पाको सुनीलस्मृति गाउँपालिका– ५ की १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको छ ।

बिहीबार बिहान चट्याङ लागेर घाइते भएका यमबहादुरको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा दिउँसो ज्यान गएको र धनमायाको बुधबार राति नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जनार्दन जिसीले जानकारी दिए । 

मधेशमा धनुषाको नगराइन नगरपालिका– ८ की ६० वर्षीया बेचनदेवी पासवानको मृत्यु भएको छ । बुधबार बिहान घरनजिकै आँपको बगैँचामा गएकी उनको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर दुई दिनमा देशभर ११ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा देशका अधिकांश ठाउँमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स त्यस्तै, आगामी केही दिन पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी तीन दिनमा विगत २४ घण्टाको जति वर्षा नभए पनि सुक्खा भने हुनेछैन । पछिल्लोे २४ घण्टामा देशभर हल्कादेखि मध्यमसम्मको वर्षा भएको उनले बताए । 

के हो चट्याङ, कसरी पर्छ ? 
मौसम विभागका पूर्वमहानिर्देशक (सरकारका पूर्वसचिव) ऋषिराम शर्माका अनुसार आकाशको बादलमा रहेको ऋणात्मक र धनात्मक चार्ज संयोगले भेट हुँदा चट्याङ पर्छ । ‘आकाशमा बादल मडारिरहेको हुन्छ । चलायमान भइरहेको हुन्छ । त्यसरी चलायमान हुँदा कुनै बादलमा ऋणात्मक चार्ज बढी हुन्छ, त कुनैमा धनात्मक चार्ज बढी हुन्छ ।

यी बादल संयोगले एकापसमा मिल्दा ऋणात्मक चाहिँ धनात्मकमा ट्रान्सफर हुन्छ । त्यो हुँदा झिल्का आउने हुन्छ । यस्तो अवस्थामा अत्यन्तै ठुलो भोल्टेज सिर्जना हुन्छ । त्यसलाई चट्याङ परेको भनिन्छ,’ उनले भने, ‘कहिलेकाहीँ धुलोका कणहरू त्यहाँ छन् भने ढुंगामा परिणत हुन्छ । त्यहाँ त्यति धेरै शक्ति हुन्छ ।

त्यसवेला आकाशबाट ढुंगा खस्यो, चट्याङ खस्यो भनिन्छ । यो रुखमा लाग्दा रुख नै चिरिएको पनि हामीले देखेका छौँ ।’ शर्माका अनुसार कहिलेकाहीँ ऋणात्मक चार्ज भएका बादल डाँडाकाँडामा ठोक्किएर पनि चट्याङ पर्न सक्छ । खास गरेर प्रिमनसुन र मनसुनको समयमा बादल निकै बाक्लो र मोटो हुने गरेका कारण यो वेलामा चट्याङ पर्ने सम्भावना अरू वेलाभन्दा बढी हुने शर्मा बताउँछन् । नेपालमा चुरे, महाभारत, अग्लाअग्ला पहाड, टेलिफोन टावरहरूमा चट्याङ पर्ने सम्भावना बढी रहने उनले बताए । 
यसरी बच्न सकिन्छ 

मौसम विभागका पूर्वमहानिर्देशक शर्माका अनुसार चट्याङ परेको समयमा बाहिर जानुहुँदैन भने रुखको छेउछाउमा बस्नुहुँदैन । त्यस्तै, घर बनाउँदा लाइटिनिङ एरेस्टर (तामाको डन्डी) छानामाथि लगाएर माटोमुनि गाड्दा सुरक्षित भइने उनको भनाइ छ । सरकारले भवन आचारसंहिता बनाउँदा लाइटिनिङ एरेस्टरलाई अनिवार्य गर्नुपर्ने र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने शर्माको सुझाव छ ।