
बुधबार राति र बिहीबार बिहान देशभर वर्षा हुँदा वनजंगलको डढेलो निभेको छ । डढेलोका कारण डेढ सातासम्म तुवाँलोले ढाकेको काठमाडौंको आकाश पनि बिहीबार साँझबाट खुलेको छ । मंगलबारसम्म एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं बिहीबार नवौँमा झरेको छ, प्रदूषणको मात्रा पनि आधाले घटेर एक्युआई ११६ कायम भएको छ । यद्यपि, वर्षा गराउने प्रणाली शनिबारसम्म कायमै रहने भएकाले आकाशमा बादल छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार १२ घण्टामै बिहीबार मध्याह्नसम्म इलामको बरफल्याङ क्षेत्रमा ११०, सर्लाहीको परवानीपुरमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर वर्षा भएको छ । यद्यपि, जल तथा मौसम विज्ञान विभागले २४ घण्टा (बिहान ८:४५ देखि अर्काे दिन बिहान ८;४५ बजे)कोे तथ्यांकलाई आधिकारिक रूपमा राख्ने भएकाले बिहीबार बिहानसम्म इलामको वर्षा १००.२ मिलिमिटर हो । यो अवधिमा २२७ मध्ये २१२ स्टेसनमा वर्षा रेकर्ड भएको छ । तीमध्ये ६ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
कोशी, मधेश र बागमतीका थोरै ठाउँमा भारी वर्षा पनि भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा १२ मिलिमिटर पानी परेको छ । जबकि, काठमाडौंमा गत १ चैतदेखि वर्षा हुन सकेको थिएन भने देशका अन्य क्षेत्र पनि चरम सुक्खामा थिए । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले वर्षासँगै काठमाडौं उपत्यकासहित अन्यत्रको तुवाँलो लगभग हटेको बताए । ‘आकाशमा बादल लागेको छ । यो वर्षाले तुवाँलो हटायो, डढेलो पनि निभायो,’ उनले भने ।
मंगलबारदेखि वर्षा हुन थालेसँगै डढेलो घटिरहेकामा बुधबार रातिको वर्षासँगै निभेको हो । नासाको मोडिज उपग्रहले संकलन गरेको तथ्यांक हेर्दा बुधबार मध्यरातिसम्म ३० ठाउँमा डढेलो रहेकामा बिहीबार भने देखिँदैन । त्यसअघि बुधबार साँझसम्म २१ जिल्लाका ६० ठाउँमा डढेलो थियो । मंगलबार पूर्वी र मध्यनेपालका केही ठाउँमा वर्षा भए पनि ५२ ठाउँमा डढेलो थियो । तर, पानी पर्नुअघि सोमबार २४१ र आइतबार २४९ ठाउँमा डढेलो थियो ।
गत मंगलबारबाट नेपाली आकाशमा छाएको वर्षा गराउने मौसमी प्रणाली अब क्रमशः कमजोर बन्दै गएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट आएको पानीका कणयुक्त हावाका कारण वर्षा भइरहेकामा अब क्रमशः कम हुने मौसमविद् गोविन्द झाले बताए । ‘यो प्रणाली शनिबारसम्म कायम हुनेछ । तर, अब बुधबार र बिहीबारको जस्तो पानी पर्र्दैन,’ उनले भने, ‘आज काठमाडौंमा दिउँसो ३ बजेपछि हल्का वर्षा हुन सक्छ । तर, त्यसअघि घाम, बादल हुने देखिन्छ ।’
शुक्रबार कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना छ । बाँकी क्षेत्रका थोरै ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । तर, शनिबार भने मुलुकका धेरैजसो ठाउँमा मौसममा सुधार हुनेछ । तर, कोशीका पहाडी र बाँकी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुने आकलन गरिएको छ ।
मौसमविद् गोविन्द झा
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले वर्षासँगै काठमाडौं उपत्यकासहित अन्यत्रको तुवाँला लगभग हटेको बताए । ‘आकाशमा बादल लागेको छ । यो वर्षाले तुवाँलो हटायो, डढेलो पनि निभायो,’ उनले भने । मंगलबारदेखि वर्षा हुन थालेसँगै डढेलो घटिरहेकामा बुधबार रातिको वर्षासँगै निभेको हो । नासाको मोडिज उपग्रहले संकलन गरेको तथ्यांक हेर्दा बुधबार मध्यरातिसम्म ३० ठाउँमा डढेलो रहेकामा बिहीबार भने देखिँदैन । त्यसअघि बुधबार साँझसम्म २१ जिल्लाका ६० ठाउँमा डढेलो थियो । मंगलबार पूर्वी र मध्यनेपालका केही ठाउँमा वर्षा भए पनि ५२ ठाउँमा डढेलो थियो । तर, पानी पर्नुअघि सोमबार २४१ र आइतबार २४९ ठाउँमा डढेलो थियो । त्यस्तै, वर्षाले बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न ठाउँमा राजमार्ग नै अवरुद्ध बन्न पुगेका थिए । पहिरो तथा सडक हिलाम्य हुँदा अवरुद्ध बनेका १३ सडक÷राजमार्ग बिहीबार नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।