
भित्र्याउन लागेको गहुँ बालीमा हावाहुरीसँगै आएको पानीले क्षति पुर्याएको छ। काट्ने तयारी गरिएको, काटिसकेको गहुँ पानीले भिजेपछि किसान चिन्तित भएका छन्।
हावाहुरीसँगै बुधबार राति परेको पानी बारीमा जमेर गहुँ भिजेपछि भित्र्याउन समस्या भएको सिराहाको लहान नगरपालिका १९ का किसान रामउद्गार साहले गुनासो गरे। ‘गहुँ छरेदेखि फल्ने वेलासम्म पानी परेन,’ उनले भने, ‘बोरिङको पानी पटाएर उब्जाएको गहुुँ भित्र्याउने वेलामा बर्खाले बिगार्यो।’
मधेश प्रदेश सरकारमातहत रहेको कृषि ज्ञान केन्द्र सिराहाले जिल्लाका १७ स्थानीय तहहरूमा गएराति हुरीबतास र बर्खाले भित्र्याउन लागेको गहुँमा क्षति पुगेको जनाएको छ। केन्द्रकी सूचना अधिकारी किरण विश्वकर्माले सम्बन्धित पालिकाअन्तर्गत रहेका कृषि शाखाहरूमार्फत हुरीबतास र बर्खाले गहुँमा पुर्याएको क्षतिको बारेमा बुझ्ने काम भइरहेको बताइन्।
उनका अनुसार गत वर्ष जिल्लामा २२ हजार हेक्टरमा गरिएको गहुँको उत्पादन ५२ हजार आठ सय मेट्रिक टन भएको थियो। ‘यो पल्ट गत वर्षको तुलनामा करिब पाँच प्रतिशत बढी उत्पादन हुने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘उत्पादन भएको पनि हो, तर बर्खाले केही क्षति पुर्यायो।’