
उदयपुरमा गएराति परेको वर्षासँगै आएको बाढीले सिद्धिचरण लोकमार्गमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल ढलेको छ । सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका– २ सिमानपुर खण्डको अमाहा खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल ढलेको हो ।
सिद्धिचरण लोकमार्गलाई हेर्ने मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोले गएराति हावाहुरीसँगै आएको वर्षाका कारण निर्माणाधीन अवस्थामा रहेको पक्की पुल ढलेको बताए । उनले भने, ‘चैतमै आएको बाढीले निर्माणाधीन पुलको बिचभाग भाँचिएको छ । पुलको सेटिङमा प्रयोग गरिएको टेकाहरू बाढीले बगेपछि पुल ढलेको हो ।’
उक्त पुल निर्माणको जिम्मा सूर्य एन्ड सन्स प्रालि धरानले गत २०७९ साल असार २९ गते ०८२ असोज २९ गतेभित्र सम्पन्न गर्ने गरी काम गरिरहेको थियो । ५० मिटर लम्बाइ सिंगल स्पान रहेको उक्त पुल ढलान गरेको २० दिनमै ढलेको महतोको भनाइ छ ।
उक्त पुलसहित २५० मिटरको चारवटा पुल सम्पन्न गर्ने गरी भ्याटसहित २८ करोड ९९ लाख ५२ हजारमा काम सम्पन्न गर्ने गरी सूर्य एन्ड सन्स प्रालि धरानले काम गरिरहेको थियो । उदयपुर पूर्वी क्षेत्रमा सामान्य रूपमा वर्षा भए पनि पश्चिम क्षेत्रमा केही मात्रमा भारी वर्षा भएको थियो ।