१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १९:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कप : गण्डकी हिरोज र हिमालयनको दोस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५७:oo

गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एकेडेमीले पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय पुरुष खुला क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत लगातार दोस्रो जित हात पारेका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पाँचौँ दिन बुधबार सम्पन्न पहिलो खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयन क्रिकेट क्लबलाई १० विकेट र दोस्रो खेलमा हिमालयनले चितवन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेका हुन्।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’मा रहेका गण्डकी र हिमालयनले लगातार दोस्रो जित हात पार्दा ग्रेट हिमालयन र चितवनले भने लगातार दोसो हार व्यहोरेका हुन्। समूह ‘बी’अन्तर्गत बिहीबार गण्डकी र हिमालयनबिच हुने खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ।

पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयन १८.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०२ रनमा सीमित भएको थियो। १०३ रनको सामान्य लक्ष्य पाएको गण्डकीले १२ ओभरमा विनाविकेटको क्षतिमा १०६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

ग्रेट हिमालयनका लागि रूपेशकुमार श्रीवास्तवले १८ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २१ रन बनाएका थिए। उत्तमरंघु थापामगरले १८, दीपक केवतले १७, अभिशेक थापाले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन्। गण्डकीको जितमा ओपनर साकिब हकले अर्धशतक पूरा गर्ने क्रममा ४३ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नटआउट ५३ रन जोडे। अर्जुन कुमालले २९ बलमा ९ चौकासहित ४६ रनको योगदान गरे।

गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभर खेल्दै २५ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए। अमृत गुरुङले ३, नारायण जोशीले २ र सुदीप अर्यालले १ विकेट लिए।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १८.१ ओभर खेल्दै ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्यसहित मैदान उत्रेको हिमालयनले १२.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

चितवनका आशुतोष घिरैयाले ४१ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोड्दै अर्धशतक बनाए। प्रतीक श्रेष्ठले २२ बलमा समान तीन चौका र छक्का प्रहार गर्दै ३८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। हिमालयनको जितमा दीपक बोहोरा नटआउट रहँदै ८० रनका साथ अर्धशतक प्रहार गरे। ४८ बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए। खडक बोहोराले १२, ओपनर दीपक बोहोरा ‘बि’ ले १० र हिमाल दौल्यालले १० रन बनाएका थिए।

हिमालयनका लागि प्लेयर अफ द म्याचसमेत भएका प्रकाश जैशीले ४ ओभर खेल्दै ११ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारे। दीपक चन्दले ३ तथा प्रतीश जिसी र दीपक बोहोरा ‘बी’ले समान १-१ विकेट निकाले। चितवनका दीपेश श्रेष्ठले २, किरण गुरुङ र विशाल खत्रीले १-१ विकेट हात पारेका थिए।