
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारबाट ज्यादती भएको भन्दै रास्वपा नेताहरू ध्यानाकर्षणका लागि आज राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन्। प्रक्रिया नै पूरा नगरी उनलाई पक्राउ गरिएको र प्रहरीबाट शृंखलाबद्ध ज्यादती गरिएको भन्दै उनीहरू आयोग जान लागेका हुन्। साढे ११ बजे आयोगको पुल्चोकस्थित कार्यालय गएर ध्यानाकर्षण गराउने तयारी रहेको रास्वपा नेता प्रमोद न्यौपानेले जानकारी दिए।
उच्च अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै गत शुक्रबार राति लामिछानेको घर पुगेर प्रहरीले पक्राउ गरेको थियो। उच्चको आदेश जिल्ला अदालत हुँदै कार्यान्वयन हुनुपर्नेमा प्रक्रिया मिचेर धरपकड गरिएको कानुन व्यवसायीले बताउँदै आएका छन्।
यसअघि अनुसन्धानको क्रममा पनि मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा प्रहरीको कार्यशैलीको आलोचना भएको थियो। सहकारी ठगीको मुद्दामा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको आरोप रास्वपाले लगाउँदै आएको छ ।
आजै, रास्वपाको सचिवालय बैठक पनि बस्दै छ।