१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १९:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले–कांग्रेस गठबन्धनको सरकार ०८४ को निर्वाचनसम्मै : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३२:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार आगामी ०८४ सालको निर्वाचनसम्मै कायम रहने बताएका छन्।

जिल्ला सदरमुकाम सिरहामा आयोजित पार्टीको ११औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, सुरक्षा, सुशासन र जनताको सेवाका लागि वर्तमान गठबन्धनको सरकार बनेको दाबी गरे। कसैले चाहँदैमा यो सरकार नढल्ने उनको भनाइ थियो।

‘नेकपा एमाले र नेपाली कांग्रेस देशका पुराना र बलिया दल हुन्,’ उनले भने ‘यी दुई पार्टीको सहकार्यमा बनेको सरकार २०८४ को निर्वाचनसम्म जान्छ।’ केही दल र नेताहरूले सरकार अहिले ढल्छ, भरे ढल्छ भन्दै हल्ला फैलाइरहेको भन्दै उनले थपे, ‘त्यो केवल हल्ला मात्र हो, त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु।’

उनले अहिलेको सरकार दुई तिहाइसहितको स्थिर र बलियो सरकार रहेकाले मुलुक लोकतान्त्रिक प्रणालीमै अघि बढ्ने विश्वास व्यक्त गरे। आफूहरुको ध्यान समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ केन्द्रित रहेको दावी गर्दै उनले मुलुकमा विद्यमान विभेद र असमानतालाई अन्त्य गर्नु आफूहरुको पहिलो लक्ष्य रहेको र त्यहीअनुसार काम गरिरहेको जिकिर गरे।

‘पुनः राजतन्त्र फर्काउने सपना निरर्थक’
पछिल्लो समय केही नेता र राजतन्त्र समर्थकहरूले देशमा पुनः राजा फर्काउन देखिरहेको सपना निरर्थक रहेको ओलीको भनाइ थियो। ‘त्यो सपना अब पूरा हुँदैन,’ उनले भने ‘जनआन्दोलनको नाममा राजतन्त्र पक्षधरहरुको वास्तविक हैसियत १५ चैतको विध्वंसकारी गतिविधिले उदाङ्गो गरिसक्यो।’

सर्वसाधारणको घर, मिडिया हाउस, औषधि कारखानामा आगो लगाउने, भित्र मान्छे थुनेर जलाउने जस्ता विध्वंसकारी गतिविधिले मुलुक त्यस्ता तत्वहरूको हातमा गयो भने के हुन्छ भन्ने प्रष्ट भएको ओलीले बताए। जनताले त्यस्ता खालका गतिविधिलाई स्वीकार गर्न नसक्ने प्रस्ट्याउँदै उनले त्यसका विरुद्ध सबै मिलेर सही जवाफ दिनुपर्ने बेला आएको उल्लेख गरे।

‘राजतन्त्र फर्किन्छ भन्ने कुरा राती देखेको सपना होइन, दिउँसै झकाएको बेला देखेको सपना हो,’ उनले भने ‘दिउँसो देखेको सपना कहिल्यै पूरा हँदैन, राजतन्त्र कुनै हालतमा पनि फर्किंदैंन।’

जनताको ठूलो त्याग, बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै उनले भने ‘दुनियाँकै उकृष्ट व्यवस्था हो, हामीले सामाजिक न्याय, समानता, न्याय र सुशासनको पक्षमा ध्यान जनुपर्छ।’

जिल्ला अधिवेशनको बन्द सत्रबाट सबैलाई स्वीकार्य हुने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै उनले भने ‘सहमति लोकतन्त्रको अझै उन्नत रुप हो, सहमतिका लागि आफू र साथीहरुको कामको पनि मूल्यांकन गर्नुस्, त्यसको आधारमा नेतृत्व चयन गर्नुस्।’ त्यसो गर्न नसकिए स्वस्थ्य प्रतिस्पर्धामा जान तर प्यानल बनाएर गुट खडा नगर्न उनको सुझाव थियो।

बिहान ११ बजे आउने प्रचार गरिएपनि मधेश प्रदेश सभालाई सम्बोधन गरेपछि  हेलिकप्टर चढेर दिउँसो २ बजेतिर सिरहा आइपुगेका प्रधानमन्त्री ओलीले सहिद हेमनारायन यादवको शालिकमा माल्यार्पण गरेर स्थानीय सूर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पस परिसरमा आयोजित ११औं जिल्ला अधिवेशनको उद्घाटनसहित सम्बोधन गरेका थिए।