१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग नभएर नकआउट आयोजना गर्दै एन्फा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o४:oo

एएफसी क्लब च्याम्पियनसिपमा नेपालबाट प्रतिनिधित्व गर्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता हुनुपर्छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८० साल यता लिग आयोजना गरेको छैन । लिग नहुँदा एन्फाले यस सिजनको एएफसी क्लब च्याम्पियनसिपमा टोली पठाउन ‘ए’ डिभिजन लिग नभएर लिग कम नकआउट प्रतियोगिता गर्ने भएको छ । 

‘एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउन यो प्रतियोगिता गर्न लागेको हो,’ एन्फामा सिइओ इन्द्रमान तुलाधरले भने, ‘हामीले नियमअनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो, तर तत्काल लिग नहुने हुँदा लिग कम नकआउटको विजेतालाई सहभागी गराउन लागेका हौँ ।’ 

एन्फामा सोमबार भएको बैठकमा कार्यसमितिका पदाधिकारी र ‘ए’ डिभिजनका १४ क्लबले लिग कम नकआउट प्रतियोगिताका लागि सहमति गरेका छन् । बैठकमा एन्फा महासचिव किरण राई, सिइओ तुलाधर, सहायक महासचिव अरुणमान जोशी, केन्द्रीय सदस्य मणिराज विष्ट, प्रतियोगिता संयोजक संयोजक सञ्जीव मिश्र र शीर्ष डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा एन्फा महासचिव राईले प्रतियोगिता आयोजना गर्ने र विजेताले एएफसी क्लब च्याम्पियनसिपमा भाग लिन पाउने प्रस्ताव राखेका थिए । 

१५ वैशाखसम्म खेलाडीको नाम दर्ता 
२०८० को जेठमा सकिएको ‘ए’ डिभिजन लिगमा १४ टोलीले भाग लिएका थिए । पहिलोपटकको प्रयासमै चर्च ब्वाइजले उपाधि जित्दा खुमलटार र एपिएफ रेलिगेसनमा परेका थिए । थ्री स्टार क्लबले श्रम स्वीकृति नभएका खेलाडी खेलाएको भन्दै एपिएफले उजुरी राखेको थियो । तर, एन्फाले अहिलेसम्म एपिएफको उजुरीको निर्णय गर्न सकेको छैन ।

लिग कम नकआउटका लागि एन्फाले १० वैशाखसम्म टिम दर्ता गर्नुपर्ने भनेको छ । सहभागी हुने टोलीले १५ वैशाखसम्म खेलाडी दर्ता गरिसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । ‘ए’ डिभिजन लिगको साबिक विजेता चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ । 

एपिएफमा २१ खेलाडीले पाए जागिर
विभागीय क्लब नेपाल एपिएफले विभिन्न खेलका गरी २१ खेलाडीलाई जागिर दिएको छ । फुटबलका सर्वाधिक ११ खेलाडी रहेका छन् । फुटबलमा प्रीति राई, रश्मिकुमारी घिसिङ, सविता रानामगर, रेनुका हमाल, मेनुकाकुमारी आलेमगर, सजनी ठोकर, सावित्री किसन, सरस्वती हमाल, मनमाया दमाईं, शारदा श्रेष्ठ र समिराज ठोकरले एपिएफमा जागिर पाएका छन् । यसअघि फुटबलबाहेक भलिबल, उसु र तेक्वान्दोका समान दुई, तथा कराँते, एथलेटिक्स, कबड्डी र क्रिकेटका समान एक खेलाडीले जागिर पाएको एपिएफले जनाएको छ । उसुका प्रेमकुमारी आले र अञ्जली लुंगेली, भलिबलका रोमा महतो र सरोज भर्देवा तथा तेक्वान्दोका सन्जना घर्तीमगर र अन्जिलीकुमारी साउदले पनि जागिर पाएका हुन् । एपिएफमा जागिर पाउनेमा एथलेटिक्सकी आश्मा विक, कबड्डीकी कलावती विष्ट, क्रिकेटकी रेवती धामी र कराँतेकी सन्जु देसार रहेका छन् ।