मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Friday, 04 April, 2025
यम बम काठमाडाैं
२o८१ चैत २२ शुक्रबार o६:१७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विषालु हावाले निस्सासियो काठमाडौं

चार वर्षअघि काठमाडौंमा वायु प्रदूषण घातक अवस्थामा पुग्दा विद्यालय नै बन्द गर्नुपरेको थियो

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार o६:१७:oo

सातामा दुई दिन बिदा दिन वातावरण मन्त्रालयको प्रस्ताव
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह भन्छन्– प्रदूषण नियन्त्रणका लागि सरकारले छिट्टै निर्णय लिन्छ 

धुलोधुवाँका कण वायुमण्डलको सतहमै फैलिँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । दिउँसोभन्दा साँझ–बिहान र राति प्रदूषण अझ धेरै छ ।बिहीबार बिहान काठमाडौंको वायु प्रदूषण सूचकांक (एक्युआई) ३७३ सम्म पुग्यो, तर राति भने केही घटेर २४४ मा कायम भए पनि निकै अस्वस्थकर हो । २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थकर र ३०१ देखि ४०० पुग्नुलाई घातक मानिन्छ ।

गत सोमबारदेखि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पर्दै आएको आइक्यू एयरको वेबसाइटमा देखिन्छ । निकै प्रदूषित भनेर चिनिने दक्षिण एसियाका दिल्ली, ढाका र लाहोर सहरलाई पनि काठमाडौंले पछि पार्दै आएको छ । यसअघि ०७७ मा पुस र चैतमा काठमाडौंको वायु प्रदूषण घातक अवस्थामा पुग्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।

वातावरण विभागका वायु गुणस्तर अनुगमन स्टेसनमा पनि प्रदूषणको मात्रा उच्च देखिन्छ । बिहीबार राति १० बजे औसत एक घण्टामा एक्युआईको मात्रा भक्तपुरमा ४५४, रत्नपार्कमा २२१, खुमलटारमा २१० र शंखपार्कमा १९८ देखिन्छ । वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले पछिल्लो एक सातादेखि वायु गुणस्तरको सूचकांक २०० भन्दा माथि नै रहेको बताए । उनले भने, ‘वायुको गुणस्तर मापनको तथ्यांक हरेक मिनेटमा फरक–फरक आउन सक्छ, तर काठमाडौंको प्रदूषणमा बाहिरबाट आएको धुवाँमिश्रित प्रदूषण मिसिँदा समस्या निम्तिएको हो ।’

बिहीबार मात्र ४५ जिल्लाका २४४ ठाउँमा डढेलो लाग्यो, अघिल्लो दिन बुधबार २५८ ठाउँमा डढेलो थियो । त्यस्तै, मंगलबार २४० र सोमबार १२९ ठाउँमा डढेलो थियो । विषालु हावाले निसास्सिँदा उपत्यकामा दिउँसोसमेत घाम लाग्न छाडेको छ भने आकाशमा खैरो तुवाँलो छ । यसले आँखा पोल्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, छाती पोल्ने, कालो र खैरो रङको खकार आउने समस्याका बिरामी बढ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आँखा, नाक र घाँटीमा समस्या देखिएका बिरामी अस्पतालमा बढ्न थालेको जानकारी आएको बताए । ‘अत्यावश्यकबाहेक यात्रा नगर्न, मास्क अनिवार्य प्रयोग गर्न अपिल नै जारी गरिसकेका छौँ,’ उनले भने, ‘बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोग लागेकाहरू अझ जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ ।’ 

छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार त्रिवि शिक्षण अस्पतालमा श्वासप्रश्वास र रुघाखोकी, भाइरलका बिरामी बढेको बताए । ‘भाइरल ज्वरो, रुघाखोकी, श्वासनली सुक्खा भएका, खोकी लागेका बिरामी दैनिक २५०–३०० सम्म पुग्न थालेका छन्,’ डा. बमले भने, ‘डढेलोको धुवाँबाट निस्केको कार्बन मनोअक्साइड पनि काठमाडौंको हावामा मिसिँदा स्वास्थ्य समस्या झन बढेको हो ।’ 

वातावरण विभागका अनुसार बिहीबार राति एक्युआईको मात्रा धनगढीमा १८९, इलाममा १७७, दाङमा १५९ र अछाममा १३६ पुगेको छ । काभ्रे, धादिङ, भरतपुरलगायत क्षेत्रमा पनि प्रदूषण उच्च भए पनि सरकारी स्टेसनबाट तथ्यांक उपलब्ध भएको छैन । वायु गुणस्तर मापन केन्द्र देशभर २८ वटा रहे पनि तथ्यांक उपलब्ध छैन ।

 वन तथा वातावरण मन्त्रालयले वायु प्रदूषण नियन्त्रणका लागि यातायातमा जोर–बिजोर प्रणाली र सातामा दुई दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको छलफलमा वन तथा वातावरणसचिव डा. दीपक खरालले प्रदूषणको अहिलेको अवस्था सुधार नहुन्जेलसम्मका लागि उपत्यकामा अत्यावश्यकबाहेकका उद्योगको उत्पादन पनि बन्द गर्न प्रस्ताव गरेका हुन् ।

उपत्यकाबाट किन बाहिर निस्कन सकेन प्रदूषण ?
उपत्यकामा प्रदूषित हावा झन्झन् थपिँदै गएको छ । तर, बाहिर निस्कन सकेको छैन । उपत्यकामै प्रदूषण अत्यधिक उत्सर्जन भइरहेका वेला बाहिरबाट पनि बहेर आएपछि आपत्कालीन अवस्थामा आइपुगेको राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रिवि प्रमुख वैज्ञानिक प्राडा रामप्रसाद रेग्मी बताउँछन् । ‘काठमाडौं उपत्यकामा प्राकृतिक रूपमा सफा हुन सक्नेभन्दा पाँच गुणा बढी प्रदूषण उत्सर्जन भइरहेकै हुन्छ, उपत्यकाको उत्तर र दक्षिणका वनजंगलमा लागेको डढेलो र उपत्यकाबाहिरबाट आएको प्रदूषित हावा जमेर बस्दा भयावह स्थिति बनेको हो,’ प्राडा रेग्मीले बताए ।

काठमाडौं उपत्यका तथा लुम्बिनी क्षेत्रमा उत्सर्जित वायु प्रदूषण डिस्पर्सन मोडेलिङ एवं नियन्त्रण पद्धति विकाससम्बन्धी अनुसन्धान गरेका रेग्मीका अनुसार अहिले उपत्यकामा थर्मल इन्भर्जन भइदिँदा प्रदूषित बिखालु हावा सतहमा तैरिएर बसेको हो । ‘धुवाँ र धुलोका कण सतहमा माथि जान सकेका छैनन्, तल फैलिएका छन् । बन्द कोठामा धुवाँ बालेजस्तो भयो,’ उनले भने । यसबाहेक हावाको वेग कम भएकाले उपत्यकाबाहिर (साँगा हुँदै) निस्कन पनि नसकेको हो । 

जल तथा वातावरण विभागका महानिर्देशक कमलराम जोशीले तत्काल वर्षाको सम्भावना नरहेकाले प्रदूषण घटिहाल्ने अवस्था नरहेको बताए । ‘मौसमी प्रणाली पनि सक्रिय छैन, एक–दुई ठाउँबाहेक काठमाडौंसहित देशभर (९ र १० चैतपछि) पानी पर्न सकेको छैन,’ महानिर्देशक जोशीले भने, ‘पानी परेको छैन, हावा चल्न सकेको छैन, बरु तापक्रम बढिरहेको छ । अहिलेको मौसम ठ्याक्कै प्रदूषण बढाउनका लागि सहयोगी बन्यो ।’ हिउँद र त्यसपछिका दुई महिना सुक्खामा बितेकामा अप्रिल पनि सुक्खामै बित्ने आकलन विभागले गरेको छ । आगामी साता मध्यनेपालमा फाटफुटबाहेक ठुलो पानी पर्ने देखिँदैन ।

त्रिभुवन विश्वविद्यालय, मौसम विज्ञान विभाग केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले यसपालि हिउँददेखि हालसम्म नै पानी कम परेकाले डढेलोले देशभर प्रदूषण बढाएको बताए । ‘आगलागी र डढेलोको धुवाँले तराईदेखि पहाडी क्षेत्रको वायुमण्डल धुम्म छ,’ उनले भने, ‘प्रदूषण घटाउन ठुलो प्रकारको मौसमी चक्र आउनुपर्छ । मंगलबारतिर पूर्वदेखि पश्चिमसम्म सम्भावना छ, यसले केही हदसम्म प्रदूषण हटाउन मद्दत गर्छ ।’

 प्रदूषण नियन्त्रण गर्न तत्काल गर्नुपर्ने चार काम
भूषण तुलाधर वातावरणविद्

डढेलो नियन्त्रण : अहिलेको प्रदूषणको मुख्य कारक डढेलो हो । डढेलो निभाउन अभियान नै चलाउनुपर्छ । डढेलोको मुख्य सिजन चैत–वैशाख हो । पानी परेको छैन, तापक्रम बढिरहेको छ । त्यसैले अब डढेलोको सम्भावित जोखिम क्षेत्र पहिचान गरेर सामुदायिक वन, स्थानीय समुदाय, संघसंस्था र स्थानीय तह परिचालन गरेर पातपतिंगर निकाल्ने र अग्निरेखा बनाउने काम गर्नुपर्छ । ९० प्रतिशत डढेलो मान्छेले नै लगाउँछन् । डढेलो लगाउनेलाई दण्ड–जरिवाना गर्नुपर्छ । यसका लागि संघ र प्रदेश सरकारले लगानी गर्नुपर्छ ।

 धुवाँ फ्याँक्ने गाडी सडकबाट हटाऔँ :  सवारीसाधनबाट निस्कने प्रदूषणको चेकजाँचका लागि अभियान नै चाल्नुपर्ने देखिन्छ । यातायात विभाग, वातावरण विभाग र काठमाडौं महानगरसहितका निकायसँग चारवटा मेसिन छन् । ट्राफिक प्रहरीसँग सहकार्य गरेर हरेक दिन सवारीसाधनबाट निस्कने प्रदूषणको चेकजाँच गरेर धुवाँ फाल्ने गाडीलाई हटाऔँ । मर्मत गरेर चेकजाँचमा पास हुनेलाई गुड्न दिनुपर्छ । 

फोहोर र कृषि अवशेष जलाउन नदिऔँ : अहिले प्रदूषण 
बढ्नुको कारण गहुँको छ्वालीसहित कृषि अवशेष जलाउनु पनि हो । घरभित्रको फोहोर र बाहिरको फोहोर पनि जलाउने गरिएको छ, यसलाई रोक्नुपर्छ । जलाउनेलाई कारबाही र नजलाउनका लागि सरकारले अभियान नै चलाउनुपर्छ । 

मास्क अनिवार्य : प्रदूषणबाट वायु प्रदूषणबाट जोगिन मास्क अनिवार्य गर्नुपर्छ । कोभिड– १९ मा मास्क अनिवार्य गरेझैँ अहिले अभियान चलाउनुपर्छ । वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने असर र बच्ने उपायबारे स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा अभियान चलाउनुपर्छ ।