
सहरको एक सामान्य टोलमा बस्ने आठ कक्षामा अध्ययनरत विद्यार्थी रोहित अरूलाई मद्दत गर्न जहिल्यै तयार रहन्थे । उनको टोलको बिजुलीको पोलमा जडान गरिएका चिम वर्षौंदेखि बल्दैनथे, तैपनि तिनमा कसैले ध्यान दिएका थिएनन् । रोहितको टोलको सो सडक खण्ड हुँदै रातको समयमा हिँडडुल गर्ने सर्वसाधारणले निकै हैरानी खेप्नुपथ्र्यो । रोहितले यसबारे बुबा–आमा र टोलवासीसित पनि गुनासो गर्थे, तर सबैले प्रशासनको लापरबाही भनेर टारिदिन्थे ।
एक दिन रोहितले आफ्ना केही साथीको सहयोगमा कतैबाट एक लामो बाँस र बिजुलीको तार ल्याएर आफ्नो घरअगाडि गाडे अनि घरको लाइनबाट जोडेर एउटा चिम जडान गरे । टोलका केही मानिसले भने उनको कामलाई हाँसोमा उडाए । उनको एक्लो प्रयासले के नै हुन्छ र भन्ने उनीहरूको तर्क थियो । तर, कम्तीमा आफ्नो घरअगाडिबाट हिँड्ने मानिसले त सास्ती व्यहोर्नुपर्दैन नि भन्ने रोहितको तर्क थियो ।
राति रोहितको घरअगाडिको चिम बल्यो । यसबारे पूरै टोलमा चर्चा चल्यो । कसैले, उनको कामको प्रशंसा पनि गरे । केही दिन बिते । बिस्तारै केही मानिसले आ–आफ्ना घरअगाडि एउटा–एउटा चिम झुन्ड्याउँदै गए । एक महिना बित्दा–नबित्दै पूरै टोल रातको समयमा उज्यालो प्रकाशमा जगमगाउन थाल्यो । एक साना बालकले सुरु गरेको सानो प्रयासको यति ठुलो परिणाम देख्दा टोलवासी पनि खुसी भए । बिस्तारै यो हल्ला पूरै सहरभरि फैलियो । देशका प्रमुख सञ्चारमाध्यमले पनि यसलाई महत्व दिएर प्रकाशित गरे । अन्त्यमा प्रशासनलाई पनि यसबारे आफ्नो कमजोरी महसुस भयो । उसले तत्काल बिग्रेको सडकबत्ती मर्मत गरेर रोहितको टोललाई झलमल्ल बनाइदियो ।