
मान्छेकाे आक्रमणमा परी घाइते भएको हात्ती ‘यमजग’को उपचार सुरु भएको छ। अगाडिको दाहिने खुट्टामा चोटका कारण डेढ महिनादेखि महाेत्तरीकाे चन्द्रपुर– ३ स्थित आदर्श सामुदायिक वन क्षेत्रमा रहेको यमगजको चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सकको टोलीले बिहीबारबाट उपचार थालेको हो।
पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोलीले घाइते ‘यमगज’लाई डार्ट गरेर एन्टिबायोटिक दिएको र चिकित्सककै निगरानीमा रहेको प्रकृति संरक्षण कोषका सदस्यसचिव नरेश सुवेदीले बताए।
‘गोली, भालाले आक्रमण भएको देखिन्छ, छर्रा निकाल्न सकिँदैन,’ सुवेदीले भने, ‘सुइमार्फत एन्टिबायोटिक दिइरहेका छौँ।’ उनका अनुसार पशु चिकित्सकले जेसिबीमाथि चढेर हात्तीको पछाडि भागमा एन्टिबायोटिक सुई लगाएको छ।
पशु चिकित्सकको निगरानीमा रहने हात्तीलाई एक सातापछि फेरि एन्टिबायोटिक दिने तयारी छ।