
खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शुक्रबार दिउँसो करिब ३ बजेतिर श्रीमान्–श्रीमती घाँस काट्न गएको समयमा खरबारीमा अचानक आगलागी भएको थियो। आगो नियन्त्रण गर्ने क्रममा बस्नेत आगोमा परेका बताइएकाे छ। आगाेबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
उनका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
वडाध्यक्ष कर्णदेव डाँगीका अनुसार श्रीमान्–श्रीमती सँगै घाँस काट्न गएको र भिरालो खरबारीमा श्रीमान् घाँस काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउन गएकी थिइन्। गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमानकाे आगलागीबाट मृत्यु भएको अवस्थामा भेटिएका बताइएको छ। एक्कासि आगलागी कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।