मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १४:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १४:२o:oo

ताप्लेजुङको पाथीभरामा भएको केबलकार विवादका विषयमा वार्ताका लागि सरकारले ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाएको छ।

गृह मन्त्रालयअन्तर्गत रहेको वार्ता टोलीका संयोजक तथा सहसचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्र पठाउँदै मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समितिलाई सम्बोधन गरी वार्ताका लागि आह्वान गरेको हो।

गृह मन्त्रालयले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक एवं सांस्कृतिक तथा स्थानीय समुदायका मागहरूका सन्दर्भमा स्थानीय सरोकारवालासँग वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको पत्रमा बताइएको छ। सरकार र आन्दोलनरत पक्षबिच गत माघ २२ गते पहिलोपटक वार्ता भएको साथै बारम्बार वार्ता र संवाद भइरहेकोसमेत पत्रमा उल्लेख गरिएको छ।

मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले गत फागुन २६ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जनसभा, आमसभा, अनशन र बन्दजस्ता कार्यक्रम समेटेर आगामी आन्दोलन अघि बढाइने भन्दै विज्ञप्तिमार्फत कार्यक्रमहरू घोषणा गरेको थियो।

विज्ञप्तिमा चैत १५ देखि २२ गतेसम्म १४ जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरिनुका साथै घाइते तथा पक्राउ पुर्जी जारी भएकाहरूसँग भेटघाट कार्यक्रम गरिने बताइएको थियो।

उनीहरूले फागुन २८ गते काठमाडौंमा उपत्यका बुद्धिजीवी भेला गरेसँगै आन्दोलनका कार्यक्रम सुरु गरेका थिए। चैत २ गते राजनीतिक दल, प्रदेश तथा संघीय सांसदहरूलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारीपत्र वितरण गरिने बताइएको छ। चैत ३ गते व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई आन्दोलनबारे जानकारीपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनअन्तर्गत चैत २ गते धरानमा मुक्कुमलुङ सम्मेलन, ३ गते ताप्लेजुङको फुङलिङमा रिले अनशन सुरु गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ। चैत ३ गते नै जुम बैठकमार्फत पक्राउ परेका तथा वारेन्ट जारी भएकाहरूको नामावली सार्वजनिक गरिनुका साथै फागुन १० गतेको घटनाबारे अन्तर्राष्ट्रिय जानकारी दिने तथा घाइतेहरूको उपस्थितिमा पत्रकार सम्मेलनसमेत गरिने बताइएको छ। 

चैत ४ देखि १२ गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गरिने, चैत ६ गते अन्तर–धार्मिक समन्वय भेला आयोजना गरिने तथा चैत ७ गते अन्तर्राष्ट्रिय निकायहरूमा आन्दोलनबारे जानकारीपत्र पठाइनेसमेत विज्ञप्तिमा उल्लेख छ।

चैत ४ गते सांकेतिक रूपमा एसियन हाई वे (कोशी प्रदेश)मा एकदिने यातायात बन्द, चैत ६ गते सिंहदरबार घेराउ, ८ गते मुक्कुमलुङ आन्दोलनका घटनाहरूको फोटो प्रदर्शनी, ९, १० र ११ गते लाहान, जनकपुर र लालबन्दीमा जनप्रदर्शन तथा आमसभा गरिने साथै १० गते नै कवि तथा साहित्यकार भेटघाट कार्यक्रमसमेत राखिएको छ।

चैत २४ गते पूर्वी नेपालका १४ जिल्लाहरूमा जनप्रदर्शन तथा आमसभा गर्ने, २५ गतेदेखि पूर्वीनेपालका १४ जिल्लाहरूमा अनिश्चितकालीन यातायात बन्द गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ। परिस्थितिअनुसार बन्दका कर्यक्रमहरू केही समय अगाडि सार्न सकिने आन्दोलनरत पक्षले जनाएको छ। आन्दोलनरत पक्षले यी कार्यक्रममार्फत मुक्कुमलुङ संरक्षणको मुद्दालाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।