त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालमाथि नेदरल्यान्ड्सले १० विकेटको जित निकालेको छ । पूजा महतोले अर्धशतक बनाए पनि बलिङ फितलो हुँदा नेपालले शृंखलामा अर्काे हार व्यहोरेको हो।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्याे ।
जितसँगै नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालको भने सम्भावना समाप्त भइसकेको छ ।
पाँच खेलमा तीन जितसँगै नेदरल्यान्ड्सले ६ अंक जोडेको छ । अब नेदरल्यान्ड्सले बिहीबार चार खेलमा आठ अंक जोडेको थाइल्यान्डको सामना गर्नेछ ।
यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो । नेदरल्यान्ड्सले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व्यहोरेको थियो ।
नेदरल्यान्ड्सका लागि कालिसले ११ चौका र दुई छक्कासहित अविजित ९८ रन बनाइन् । उनलाई साथ दिएकी फेबे मोल्केनबोएरले ४९ बलको सामना गर्दा चार चौकासहित ४८ रनको पारी खेलिन् । शृंखलामा यो सबैभन्दा ठुलो रनको साझेदारी हो । नेपालकी सीता रानामगर सबैभन्दा महँगो बलर साबित भइन् । तीन ओभर बलिङ गरेकी सीताले २६ रन खर्चिइन् ।
यसअघि युवा ब्याटर पूजा महतोको अर्धशतकीय पारीप्रेरित नेपालले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १४५ रनको योगफल खडा गरेको थियो । पूजाले ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् । शृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो । अन्तर्राष्ट्रिय टी–२० मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेका थिए ।
पूजाले कप्तान इन्दु वर्मासँग मिलेर तेस्रो विकेटका लागि ७८ रनको अर्धशतकीय साझेदारी गरिन् । इन्दुले पेभिलियन फर्किनुअघि ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन् । यसबाहेक रुविना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन् । ओपनर सम्झना खड्का र ममता चौधरीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्यान्ड्सका लागि आइरिस ज्विलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन् ।