Skip This
राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रूपेश र सिन्दिरा अपराजित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
२o८१ माघ १८ शुक्रबार १९:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रूपेश र सिन्दिरा अपराजित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १९:४८:oo

हेटौँडामा जारी २५औँ राष्ट्रिय पुरुष तथा १०औँ महिला बुद्धिचाल प्रतियोगिताको ११ चरणको राउन्डरोविन खेल जारी रहँदा पुरुषतर्फ रौतहटका रूपेश जैसवाल र महिलातर्फ काठमाडौंकी सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा यथावत् रहँदै जितनजिक छन् ।

नेपाल बुद्धिचाल महासंघको आयोजना र हेटौँडा चेस क्लब मकवानपुरको व्यवस्थापनमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न नवाैँ चरणको खेलसम्म आइपुग्दा पुरुषतर्फ पूर्वनेपाल च्याम्पियन रूपेश जैसवाल र महिलातर्फ वर्तमान नेपाल महिला च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा रहेका हुन् ।

रौतहटका रूपेश जैसवाल र काठमाडौंकी सिन्दिरा जोशी दुवैले आ–आफ्नो विधामा समान ७.५ अंक बनाएर अग्रता कायम गर्ने क्रममा समान ६ जित तीन बराबर खेल खेलेका छन् । 

यता अर्कोपटक २६औँ राष्ट्रिय प्रतियोगितामा सीधा प्रवेश गर्ने होडमा काठमाडौंका युवा खेलाडी पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त दोस्राे स्थानमा छन् । यस्तै, मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंकसहित चौथो स्थानमा, झापाका शुश्रुत दहाल र दोलखाका आशिष फुयाँल समान ५.५ अंक जोडेर संयुक्त पाँचौँ स्थानमा रहेका छन् । 

यसैगरी, महिला विधातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौंकी १३ वर्षीय खेलाडी एञ्जल महर्जनले सात अंक बनाएर दोस्राे स्थानमा र मोरङका शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन् । बाँकेका इशा गिरी र झापाका पुनम प्रसाईं दुवै खेलाडी ६–६ अंक बटुल्दै प्रतियोगितामा मुकाबिला गरिरहेका छन् । 

स्ट्यान्डर्ड क्लासिकल राष्ट्रिय प्रतियोगिताको पुरुषतर्फ दसाैँ चरण खेल पुरुषोत्तम–सरोज महर्जन, क्षितिज–प्रेमकृष्ण, राजन–शुश्रुत, धीरेन–विनय, रूपेश–आशिष र नवीन–रिजेन्द्रबिच जारी छ । ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ड रहेको राष्ट्रिय महिला खेलतर्फ इशा–लक्ष्मी, पुनम–नयुमा, सुशीला–निहाना, कृतिसारा–शान्ति, सिन्दा–दानिशा र एञ्जल–विनिता स्पर्धा गरिरहेका छन् । 

शनिबार सम्पन्न हुने राष्ट्रिय बुद्धिचाल खेलको अन्तिम खेल शनिबार बिहान ८ बजे सुरु हुने संयोजक धरमबहादुर लामाले जानकारी गराएका छन् । महासंघका महासचिव लामाले लगत्तै विजेतालाई पुरस्कार वितरण एवं चेस खेल प्रवर्द्धनमा योगदान पुर्‍याएका दुईजना अग्रज पत्रकारलाई सम्मान गरिने कार्यक्रम रहेकोसमेत अवगत गराएका छन् ।