हेल्पिङ हर्ट नेपालले सिराहाको धनगढीमाईस्थित नयनपुर नगर अस्पताल, सुखीपुर नगरपालिकाको आधारभूत अस्पताल र अर्नामा गाउँपालिका महनौरस्थित स्वास्थ्य चौकीलाई एक करोड पाँच लाख रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोगमा गरिब, विपन्न, असहायलाई नि:शुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सघाउ पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोगस्वरूप उपलब्ध गराइएको हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउद्दिन खानले बताए ।
उनका अनुसार अस्पताल र स्वास्थ्य चौकीलाई प्रसूति बेड, सर्जिकल सामग्री, ह्विलचियर, औषधि, ग्लोब्स, सिरिन्जलगायत आवश्यक सामग्री र उपकरण उपलब्ध गराइएको हो ।
‘अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यक पर्ने औषधि, उपकरण नि:शुल्क उपलब्ध गराइएको हो,’ उनले भने, ‘उक्त सहयोगपछि गरिब, विपन्नले गुणस्तरीय र नि:शुल्क स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।’ स्वास्थ्य सामग्री स्थानीय जनप्रतिनिधि, मधेश प्रदेश सांसद, स्वास्थ्यकर्मीलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको उनले बताए । अस्पताललाई प्राप्त स्वास्थ्य सामग्री तथा उपकरणले बिरामीलाई स्तरीय स्वास्थ्य सेवा दिन महत्वपूर्ण सहयोग पुग्ने धनगढीमाई नगरका स्वास्थ्य शाखा प्रमुख विश्वेश्वरप्रसाद यादवले बताए । ‘नगरपालिकाले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ,’ उनले भने, ‘संस्थाको सहयोगले सेवा सुधारसँगै प्रवाह गर्न सहज हुनेछ ।’