बालुवाटार क्रिकेट क्लब र थर्ड आइ युथ क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन्। बुधबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा बालुवाटारले एन्जल्स स्पोर्टस् एकेडेमी र थर्ड आईले पुष्पलाल स्पोर्टस् क्लबलाई पराजित गरेका हुन्।
दिनको पहिलो खेलमा बालुवाटारले ६ विकेटको जित निकाल्यो। एन्जल्स स्पोर्टसले प्रस्तुत गरेको ९४ रनको लक्ष्य बालुवाटारले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। बालुवाटारका लागि प्रशिद्ध जैसीले ४१ र सुजल खड्गीले अविजित २२ र रोशन पुनले १० रन बनाए। एन्जल्स स्पोर्टसका लागि सागर कट्वाल र सुजन ढकालले समान २ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको एन्जल्स स्पोर्टसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो। एन्जल्स स्पोर्टसका लागि उपेन्द्र खत्रीले ३३ र योगेश मगरले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बालुवाटारका लागि धीरज देउवाले ३, प्रशिद्ध जैसीले २ र स्मिथ बुढाले एक विकेट लिए।
दोस्रो खेलमा थर्ड आई २४ रनको जित दर्ता गर्यो। थर्ड आईले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको पुष्पलालले १९.१ ओभरमा ९ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो। पुष्पलालका १ खेलाडी रिटायर्ड हर्ट भएका थिए। पुष्पलालका लागि दीपक भण्डारीले अविजित २४, सुशान्त बुढाथोकीले १२ र बिकी मण्डलले ११ रन बनाए। थर्ड आईका लागि गणेश विष्टले ३ तथा सौराज थापा र अभिषेक कार्कीले समान २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको थर्ड आईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो। थर्ड आईका लागि समाज पौडलले ४७, कृष्ण थापाले २२ र दीपेन्द्र ओझाले अविजित १६ रन बनाए। पुष्पलालका लागि ओमप्रकाश डाँगीले ३, महेश भण्डारीले २ र दीपक भण्डारीले १ विकेट लिए।