काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत् सबस्टेसन क्षेत्रका प्रभावित स्थानीयले केही समयदेखि विभिन्न माग राखी प्रदर्शन गरिरहेको र प्रदर्शनका क्रममा केहीलाई पक्राऊ र धरपकड भएको भन्दै राप्रपाले ध्यानाकर्षण गराएको छ।
बस्तीको मध्यभागमा सबस्टेसन निर्माण हुँदैगर्दा सबस्टेसनले ठुलो क्षेत्र ओगट्ने, ठुलो संख्यामा स्थानीय प्रभावित बन्नुपर्ने र वैकल्पिक स्थानमा सबस्टेसन स्थानान्तरण गरिनुपर्ने स्थानीयको माग छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा जबर्जस्ती परिस्थितिलाई उत्तेजित तुल्याउने, दमन र धरपकड गर्ने कार्य गरिनु अनुचित छ।’ प्रवक्ता श्रेष्ठले बोझेनी प्रदर्शनका क्रममा पक्राउ परेका १६ जना स्थानीयलाई अविलम्ब र विनासर्त रिहा गर्न, घाइते भएकाहरूको निःशुल्क उपचार गर्न र वार्ताद्वारा समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा स्थानीय आइते तामाङ, निरमाया तामाङ, लक्ष्मी तामाङ, चित्रबहादुर पाख्रिन, सन्त पाख्रिन, गुनमाया तामाङ, मंगली तामाङ, ठुलीमाया थिङ, कान्छीमाया तामाङलगायत पक्राउ परेका थिए।