मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Monday, 06 January, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ पौष १८ बिहीबार o६:१२:oo
Read Time : > 13 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५० वर्ष राजनीतिक संगत गरेका र अधिकांश समय एउटै कित्तामा रहेका रावलको ओलीमाथि गम्भीर आक्षेप

‘देशभक्तिपूर्ण वैकल्पिक  राजनीतिक शक्ति’ बनाउने रावलको घोषणा  

Read Time : > 13 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार o६:१२:oo

पार्टी गठनपूर्व उनले देशव्यापी मातृभूमि जागरण अभियान चलाउने, एमालेभित्रको असन्तुष्ट मत र निराशामा रहेका समाजका विभिन्न व्यक्तित्वहरूलाई संगठित गर्ने संकेत

राजनीतिक जीवनको उत्तराद्र्धमा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले तत्काल अभियान चलाएर केही समयपछि नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । पाँच दशक लामो सक्रिय राजनीतिमा रहेका रावलले पुराना दलहरूले जनताको आकांक्षा पूरा गर्न नसक्ने भन्दै ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति’ निर्माणको आवश्यकता औँल्याएका हुन् । पार्टी गठनपूर्व उनले देशव्यापी मातृभूमि जागरण अभियान चलाउने उद्घोष गरेका छन् । 

एमालेले निष्कासन गरेको एक सातापछि बुधबार पत्रकार सम्मेलनमार्फत कारबाहीका क्रममा लागेका आरोपको दर्जनौँ कडा प्रश्नमार्फत खण्डन र प्रतिवाद गर्दै रावलले नयाँ पार्टी गठनअगाडि अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । रावलले मूलत : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको नीति, नियत र कार्यशैलीमाथि ६ दर्जनभन्दा धेरै प्रश्न उठाएका छन् । 

नयाँ पार्टीको उद्देश्य, संगठनात्मक स्वरूप र प्राथमिकताबारे उनले स्पष्ट त गरेका छैनन्, तर ओलीप्रति उठाएका प्रश्नले उनको पार्टी ‘राष्ट्रवाद’को ब्यानरमा बन्ने संकेत दिएको छ । उनले एमालेभित्रको असन्तुष्ट मत र निराशामा रहेका समाजका विभिन्न व्यक्तिहरूलाई संगठित गर्ने संकेत पनि गरेका छन् । रावलले यसअघि नै गैरकम्युनिस्ट चरित्रको पार्टी निर्माण गर्ने बताइसकेका छन् । 

दुई घण्टा लामो पत्रकार सम्मेलनमा आफ्नो भावी कदम प्रस्ट्याउँदै रावलले अभियानका नाममा हुने देशदौडाहका क्रममा नयाँ पार्टी गठनको ‘वार्मअप’ गर्ने जनाउ दिएका छन् । उनको कदमले एमालेको आन्तरिक जीवन र देशको राजनीतिक परिदृश्यमा केही प्रभाव पार्न सक्ने विश्लेषक बताउँछन् । रावल सुदूरपश्चिममा एमालेका प्रभावशाली नेतामध्ये एक हुन् । 

‘देश बलियो भयो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्यता बलियो गरी समात्नु आवश्यक छ । यसका लागि राष्ट्रव्यापी अभियान चलाउनुपर्छ ।  भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनुपर्छ,’ अबको बाटो शीर्षकमा रावलले भनेका छन्, ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यता स्थापित  गर्नुपर्छ । मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ ।’

रावलले देश र जनताले भोगिरहेका समस्याको समाधान र चुनौतीहरूको सामना गर्दै देशलाई पुनर्जागरण गर्नेतर्फ पाइला अगाडि बढाउने पनि जनाएका छन् । ‘स्वदेश र प्रवासमा रहेका नेपालीहरूको आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी  मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ । देशको जनशक्ति र  प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न  माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ ।’ 

उनले अहिलेका समस्या समाधानका लागि देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक  शक्तिको निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन् । ‘राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ । यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निःस्वार्थ रूपमा दृढताका साथ हिँड्नुपर्छ,’ उनले भनेका छन्, ‘यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार,  कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक  शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयास अगाडि बढ्नेछन् ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भीम रावल आफैँले एमाले नभएको प्रमाणित गरेपछि कारबाही गरेको र त्यसपछि उनका अभिव्यक्तिमा थप प्रतिक्रिया जनाइराख्नुपर्ने आवश्यकता नरहेको बताए । ‘उहाँले सल्लाहकारको पनि शपथ लिनुभएन र पार्टी सदस्यता पनि नवीकरण गर्नुभएन । उहाँ जत्तिको व्यक्तित्वले पार्टीका प्रत्येक निर्णयमाथि असहमति राखेर सार्वजनिक रूपमै मत बजाउँदै आउनुभएको थियो । यसरी एमालेभित्र रहेर, सामीप्यता राखेर काम गर्नेभन्दा पनि निरन्तर निहुँ खोज्ने मात्र काम गरेकै कारण उहाँलाई पार्टीले स्पष्टीकरण सोध्यो,’ गौतमले भने, ‘त्यसको पनि कुनै जवाफ दिनुभएन र उहाँ आफैँले एमालेको सदस्य नभएको र नरहने तथ्यलाई प्रमाणित गर्नुभो । त्यसकारण उहाँलाई बाध्य भएर पार्टीले कारबाही गरेको हो । त्यसकारण पार्टीको पछिल्लो निर्णयपछि उहाँले के भन्नुभो, के गर्नुभो भन्ने विषयमा थप प्रतिक्रिया जनाइराख्नुपर्ने आवश्यकता छैन ।’

ओलीसँग जेलमा पहिलो भेट, अध्यक्षमा प्रतिस्पर्धापछि ‘ब्रेकअप’ 
एमाले अध्यक्ष केपी ओली र कारबाहीमा परेर निष्कासित रावलबिच पहिलो भेट करिब ५० वर्षअघि सेन्टर जेलमा भएको थियो । जति वेला ओली झापा आन्दोलनका क्रममा पक्राउ परेर राजद्रोहको मुद्दामा जेल थिए । विद्यार्थी आन्दोलनको क्रममा तत्कालीन पञ्चायती सरकारले २०३२ सालमा केन्द्रीय कारागारमा थुनेको वेला रावलले राधाकृष्ण मैनालीको हातबाट जेलभित्रै पार्टी सदस्यता लिएको बताएका छन् । 

तत्कालीन माले हुँदै एमालेमा ५१ वर्षको राजनीतिक जीवन बिताएका रावल छैटौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । ०५१ को स्वर्गीय मनमोहन अधिकारीको पहिलो अल्पमतको कम्युनिस्ट सरकारमा ओली गृहमन्त्री हुँदा रावल पर्यटन राज्यमन्त्री भएका थिए ।

सातौँ महाधिवेशनसम्म तत्कालीन महासचिव माधव नेपाल समूहमा रहेका रावल बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा ओलीकै समूहबाट उपाध्यक्ष उठे, तर पराजित भए । त्यसपछि ओली–नेपाल मिलाउन निर्णायक भूमिका खेलेका रावलले भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनमा भने नेपाल समूहबाट उपाध्यक्ष जिते । तर, नेपाल अध्यक्षमा ओलीसँग पराजित भए । त्यसलगत्तै ओलीसँग नजिकिएर पोलिटब्युरो र स्थायी कमिटीमा दुवै पक्षको सन्तुलन मिलाउन भूमिका खेलेर रावल बिस्तारै ओलीसँग नजिकिएका थिए । 

आठौँ महाधिवेशनपछि तत्कालीन नेकपा माओवादीलाई हेर्ने नीति उग्रवामपन्थीविरुद्ध वैचारिक संघर्ष गर्नुपर्ने ओलीको नीतिको पक्षमा रावल पनि उभिएका थिए । राष्ट्रियता र राज्य पुनर्संरचनाको मुद्दामा पनि मुद्दा मिलेका कारण ओलीले रावललाई विश्वास गर्दै आएका थिए । तर, ३ जेठ ०७५ मा तत्कालीन माओवादी केन्द्रसँगको एकताबाट नेकपा बन्दासम्म ओलीनिकट रहेका उनी त्यसपछि भने केन्द्रीय सचिवालयमा नपरेपछि उनीसँग टाढिए । 

आफूभन्दा जुनियरलाई सचिवालयमा लगिए पनि सर्वाधिक मत ल्याएर जितेको उपाध्यक्षलाई नबनाइएको भन्दै ओलीसँग टाढिएका रावल बिस्तारै पुनः नेपालनिकट भए र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालसँग मिलाउन सक्रिय भए । ओली–प्रचण्ड र नेपाल समूहबिचको अन्तरसंघर्ष चर्किएर पार्टी फुटको संघारमा पुगेपछि रावल दशबुँदे सहमति बनाएर नेपाल समूहलाई एमालेलमै मिलाउन सक्रिय भए । तर, उनको प्रयास सफल भएन । 

अन्ततः नेकपा विभाजित भएपछि उनीसहित तत्कालीन स्थायी समितिका १० सदस्य एमालेमै रहे । ०७८ मा चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएर २२३ मत ल्याएर पराजित भए । १८ सय ४० मतसहित ओली अध्यक्षमा निर्वाचित भए । तर, महाधिवेशनमा स्वेच्छाचारी र निरंकुश शैली अपनाएर आफूलाई उम्मेदवार बन्नबाट समेत वञ्चित गराउन खोजेको आरोप लगाएर रावलले निर्वाचित केन्द्रीय सदस्य पद अस्वीकार गरे । 

त्यसपछि केन्द्रीय सल्लाहकार पद पनि अस्वीकार गरेर बसेका रावलले ओलीको कार्यशैलीप्रति असहमति प्रकट गर्दै उनका कदमहरूको सार्वजनिक रूपमा विरोध गर्दै आएका थिए । अघिल्लो वर्षको चैतमा पहिलोपटक उपाध्यक्ष विष्णु पौडेलको पहलमा एमाले केन्द्रीय कार्यालय, च्यासलमा दसौँ महाधिवेशनपछि ओली–रावल पहिलो संवाद भएको थियो । सौहार्दपूर्ण संवादलाई निरन्तरता दिने समझदारी भएको रावलले नै सार्वजनिक गरेका थिए । त्यसयता पनि आफूले निरन्तर वार्ताबाट एमालेमै रहने गरी प्रयास गरे पनि असफल भएको रावलले प्रेस विज्ञप्तिमा प्रस्ट्याएका छन् ।

एमालेले गत दसैँमा व्यापारी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालयका लागि जग्गा दान लिने निर्णय गरेपछि रावलले पनि विरोध जनाएका थिए । त्यसलगत्तै एमालेले रावलले लगातार पार्टी नीति र निर्णयविपरीत अभिव्यक्ति दिएको र गतिविधि गरेको आरोप लगाएर ६ कात्तिकमा स्पष्टीकरण सोधेको थियो । तर, उनले प्रस्टीकरण दिएनन् । १० पुसमा बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई संगठित सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गर्‍यो । 

यस्ता छन् ओलीलाई रावलका ७४ प्रश्न

१. २०७४ निर्वाचनपछिको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित उपप्रधानमन्त्री, राज्यमन्त्री र सहरी विकासमन्त्री दिने काम कुन नियत र उद्देश्यले राख्नुभयो ? मन्त्रीहरू हेर्दा पार्टीप्रतिको निष्ठा र इमान देखिन्थ्यो कि समाप्त भएको झल्कन्थ्यो ? 

२. सरकारको काम प्रभावकारी तुल्याउन वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन र चुनावी घोषणापत्रका वाचाविपरीत किन सरकार सञ्चालन गर्नुभयो ? 

३. स्थायी कमिटीलाई कुनै जानकारी नगराई पालैपालो प्रधानमन्त्री हुने गोप्य सम्झौता गर्नुभएको हो कि होइन ? एमाले र माओवादी केन्द्रबिच एकीकरणको उद्देश्य केवल प्रधानमन्त्रीको पद हत्याउने मात्र रहेछ भन्ने घटनाक्रमले पुष्टि गरेन र ? 

४. २०७५ साल फागुनमा सुरक्षा परिषद्सम्बन्धी विधेयकमा परिषद्को बैठक नबोलाई प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने प्रावधान राख्न लगाउनुको उद्देश्य तानाशाह बन्ने कुआकांक्षा थियो, होइन र ? 

५. सिके राउतसँग दुई देशका प्रतिनिधिहरूबिच झैँ सम्झौता गरी ‘स्वतन्त्र मधेश’को धारणा स्वीकार गर्नु के स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम थियो ? 

६. नेपालमा आयात हुने फलफूल, तरकारी, माछा–मासुलगायतका खाद्यान्नमा विषादीको परीक्षण गरिने भएपछि त्यसको विरोधमा भारतीय दूतावासले धम्कीपूर्ण पत्र पठाउँदा उक्त परीक्षण नगर्न मन्त्रिपरिषद्मा निर्णय गरेर लम्पसार पर्ने तपाईं नै होइन र ? 

७. आइफा पुरस्कार वितरणको आयोजना नेपालमा गरी सरकारी कोषबाट एक अर्बभन्दा बढी खर्च गर्ने र त्यसमा नेपाल सरकारको कुनै नियन्त्रण र भूमिका नरहने एवं त्यसबाट प्राप्त हुने सबै किसिमको लाभ भारतीयहरूले नै लिने काममा लाग्नुको पछि के स्वार्थ थियो ? 

८. काठमाडौंमा परम्परादेखि चल्दै आएको गुठी प्रणालीबारे सरोकारवालाहरूसँग कुनै छलफल नगरी त्यसलाई विशृंखलित पार्ने विवादास्पद गुठी विधेयक किन ल्याउनुभयो ? 

९. युनिफिकेसन चर्च र युनिभर्सल पिस फाउन्डेसनको कार्यक्रममा होक्जा मुनको घोर कम्युनिस्टविरोधी मन्तव्य स्वादका साथ सुन्ने र निजबाट सम्मान–रकम प्राप्त गरी स्वाधीन नेपालको प्रधानमन्त्रीको गरिमामा नै आँच पुर्‍याउने तपाईंं नै होइन र ? 

१०. नेपाली महिलालाई गोर्खा भर्तीमा जान दिएर तपाईंले नेपाली जनताको स्वाधीनताको भावनामा प्रहार किन गर्नुभयो ? 

११. सवारीसाधनमा राखिने ‘नम्बर प्लेट’मा इम्बोस्ड नम्बर अंग्रेजी भाषामा राख्नुका साथै त्यससम्बन्धी सम्पूर्ण तथ्यांक विदेशीको हातमा पुग्ने निर्णय रोक्न उठाएको माग तपाईंंले कसको स्वार्थका लागि बेवास्ता गर्नुभयो ? 

१२. साना घरेलु उद्योग व्यवसायलाई संरक्षण गर्ने कानुनविपरीत विदेशीले लगानी गर्न पाउने कुरा गरी तपाईंले राष्ट्रिय हितविपरीत निर्णय किन गर्नुभयो ? 

१३. एमसिसी सम्झौताबारे तत्कालीन नेकपाको स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय भएपछि तपाईं बैठकमा नआएको र त्यसपछि प्रतिनिधिसभा नै भंग गर्नुभएको होइन र ? तपाईंले सम्झौता अनुमोदन गर्न नरोक्ने, तर नाराबाजी गरेर सांसदहरूलाई बोल्न नदिने खेल खेल्नुभएको होइन ? 

१४. संविधानको मार्ग निर्देशन र पार्टीका घोषित कार्यक्रम एवं नीति तथा निर्वाचन घोषणापत्रमा गरेका प्रतिबद्धताहरू पूरा गर्नेतर्फ इमानदार प्रयास किन गर्नुभएन? 

१५. सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान नेपालगन्जनिवासी गजेन्द्र हमाललाई प्रधानन्यायाधीशको ‘कोटा’बाट आपूर्ति, उद्योग र वाणिज्यमन्त्री बनाउने गलत कार्यको विरोधमा तपाईंले चुइँक्कसम्म किन गर्नुभएन ? 

१६. सर्वोच्च फैसलामा नेपाल कम्युनिस्ट पार्टी नामको दल नरहने भने पनि केन्द्रीय कमिटीको बैठक बोलाई छलफल किन नगरेको ? देश र जनताको हितमा काम गर्न दिएको सुनौलो अवसरमाथि घात गर्दै प्रतिनिधिसभा विघटन किन गर्नुभयो ? 

१७. दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको चयनमा तपाईंकै निर्देशनमा भएका निम्नलिखित धाँधलीपूर्ण र आपत्तिजनक क्रियाकलाप कम्युनिस्ट पार्टीका लागि लज्जास्पद र हानिकारक होइनन् र ?

१८. बालुवाटारमा भारतीय रअका प्रमुख सामन्त गोयलसँग २०७७ साल कात्तिक ७ गते मध्यरातमा भेट्नु के प्रधानमन्त्रीको गरिमा र पदीय मर्यादाअनुरूप थियो? 

१९. २०७८ साल साउनमा सत्ता हत्याउनका लागि लुम्बिनी प्रदेश सभाकी सांसद विमला ओलीलाई अपहरण गर्ने तपाईंको गुटिया मुख्यमन्त्री शंकर पोखरेल नै होइन र ? साथै निजलाई मुख्यमन्त्री बनाउन सेना परिचालन गरी सेनाको घेरामा शपथ दिलाउनु घोर अलोकतान्त्रिक चरित्र हो कि होइन ? 

२०. बाह्य शक्तिलाई खुसी पारेर आफ्नो निहित स्वार्थ पूरा गर्न २०७८ साल असोजमा नेपालको हितविपरीत ९०० मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना सुटुक्क सुम्पने तपाईं नै होइन र ?

२१. २०७९ सालको आमनिर्वाचनमा कम्युनिस्टविरोधी र नेपालको संस्कृतिविरोधी नेपाल परिवार दलको अध्यक्षलाई एक नम्बरमा समानुपातिक उम्मेदवार तपाईंले एमालेको कुन विधि, विधान, सिद्धान्त र मान्यताको आधारमा गर्नुभयो ? 

२२. ‘के को भीम रावल ? ४८ सालदेखि मुख बाएर खाएको खायै छ, बुढो भइसक्नुभयो, रावल अरू पनि छन्, अगाडि बढाइन्छ’ भन्ने जवाफले तपाईंको गैरजिम्मेवार चरित्र र दुराग्रह छताछुल्ल हुन्न र ?

२३. राजविराजमा जाँदा तपाईंसमेतलाई सिध्याउने षड्यन्त्र गर्ने र प्रधानमन्त्री भएर प्रदेश सभामा जाँदा कालो झन्डा देखाउने पार्टीका मानिसलाई तपाईंंले संसदीय समतिको सभापति बनाउनुको रहस्य के हो ? 

२४. सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न बनाइएको भवनलाई प्रधानमन्त्री भएको वेला आफ्नी श्रीमती संरक्षक रहेको मानव सेवा आश्रम नामक गैरसरकारी संस्थालाई निःशुल्क उपयोग गर्न दिनु के सुशासनको परिचायक हो ? 

२५. राति १२ बजे एक व्यवसायीको घरमा बसेर सरकार परिवर्तन गर्न कांग्रेसका सभापति शेरबहादुर देउवासँग साँठगाँठ गर्नेजस्तो निहित स्वार्थकेन्द्रित सत्ताको खेल तपाईंको घोर अवसरवादी चरित्रको द्योतक होइन र ? 

२६. तपाईंकै प्रधानमन्त्री कालका गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकारसमेतले ठुलो रकम असुलेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको होइन र ? २०८० साल वैशाख २० गते सिंहदरबारमा तपाईंले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएको एमाले सचिव तथा प्रतिनिधिसभा सदस्यलाई गिरफ्तार नगर्न गरेको आग्रह एवं निजलाई गिरफ्तार गर्ने कुरा षड्यन्त्रपूर्ण छ भनी सार्वजनिक रूपमा भनेको कुराले के संकेत गर्छ ? 

२७. २०७७ साल वैशाख महिनामा पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएर र आफूनिकटका मानिसलाई निर्वाचन आयोगमा नेकपा (एमाले) दल दर्ता गराएर विभाजनको बिउ रोप्ने तपाईं नै होइन र ?

२८. फाउन्डेसनको नाममा देशव्यापी रूपमा समानान्तर संगठन चलाउँदै पार्टीका संस्थागत निर्णयहरूको अवज्ञा गर्ने र कार्यान्वयन हुन नदिई अस्तव्यस्त स्थिति बनाउने तपाईंको काम कुन विधि, पद्धति र अनुशासनअन्तर्गत पर्दथ्यो ?

२९. २०७७ साल पुस ५ गते पहिलो प्रतिनिधिसभा नै भंग गर्ने ध्वंसात्मक बाटोमा तपाईं कसको उक्साहटमा लाग्नुभयो ? दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेबाट तपाईं निहित स्वार्थमा देश, जनता र पार्टीलाई धोका दिन उद्यत् रहेको स्पष्ट हुँदैन र ?

३०. दल विभाजनसम्बन्धी अध्यादेशद्वारा ऐनमा संशोधन गरी अर्को दललाई फुटाएर त्यसका सांसदहरूलाई अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याउन लगाउने तपाईंले विधि र अनुशासनको कुरा गर्नु सुहाउँछ र ? 

३१. पार्टीका केही नेताहरू भारतसँग मिलेर आफूलाई हटाउन लागेको भनी मदन भण्डारी फाउन्डेसनको एउटा कार्यक्रममा सार्वजनिक रूपमा तपाईंले भन्नुभयो । बैठकमा आएर तथ्य कुरा राख्नुको साटो बैठकमाा अवरोध सिर्जना गर्ने तपाईं नै होइन र ? 

३२. तपाईंले संवैधानिक परिषद्सम्बन्धी ऐन मनपरी किसिमले अध्यादेशबाट संशोधन गर्न प्रतिनिधिसभाको बैठक सभामुखलाई समेत थाहै नदिई बन्द गर्दा के पार्टीमा परामर्श वा जानकारी गराउनुभएको थियो र ?

३३. संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र सांसदहरूले समावेदन दर्ता नगर्ने सहमति र स्थायी कमिटीको सर्वसम्मत निर्णयको पालना गर्नुको साटो भोलिपल्टै संवैधानिक परिषद्को बैठक बोलाएर पार्टी निर्णयको अवज्ञा र अपमान गर्ने तपाईं नै होइन र ? 

३४. प्रचण्डलगायत सचिवालयका पाँचजना सदस्यहरूले लिखित रूपमा बैठकको माग गर्दा उल्टै अनेक झुटा लाञ्छना लगाउँदै १० पृष्ठ लामो पत्र पठाएर पार्टीमा संकट सिर्जना गर्ने तपाईं नै होइन र ? स्वयं अध्यक्ष भएर पार्टीको बैठकमा उपस्थित नहुने तपाईं नै पार्टीको सिद्धान्त, नीति र विधानविपरीत स्वेच्छाचारी काममा सबभन्दा अब्बल साबित भएको होइन र ?

३५. तपाईंलाई पार्टी अध्यक्ष र पूरै पाँच वर्ष प्रधानमन्त्री पदमा कायम राख्दै राष्ट्रिय महाधिवेशनको आयोजना गरी सबै सैद्धान्तिक र राजनीतिक विषयहरूको टुंगो लगाउने स्थायी कमिटीको निर्णय तपाईंले कसको स्वार्थमा किन अवज्ञा गर्नुभयो ?

३६. केन्द्रीय सदस्यहरूको भेलालाई बैठकको नाम दिई राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्ने अनधिकृत निर्णय गर्दै पार्टीलाई विभाजनतर्फ पहिले धकेल्ने तपाईं नै होइन र ? 

३७. तपाईंले प्रधानमन्त्री हुँदा सरकार सञ्चालनमा दलको भूमिका, निर्वाचन घोषणापत्र, सैद्धान्तिक, नीतिगत निर्णय र कार्यक्रमको पालना गर्नुको साटो संविधान र पार्टी विधानअनुरूप पार्टी र सरकारको बिचमा न्यूनतम समन्वय नगरी संकट र समस्या सिर्जना गर्नुभएको होइन र ? 

३८. तपाईंले कम्युनिस्ट पार्टीको विरुद्ध तथा राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको राजपासँग राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्नुका साथै सहकार्यका साथ अगाडि बढ्ने सहमतिमा हस्ताक्षर गरेको होइन र ? 

३९. ललितानिवास, बालुवाटार जग्गासम्बन्धी भ्रष्टाचार प्रकरणमा महासचिव विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित किसिमले प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरूको नाममा मुद्दा दायर गर्न नमिल्ने भनी गरेको फैसला तपाईंकै इसारामा भएको होइन र ? 

४०. प्रधानमन्त्री भएको वेला तपाईंले आफ्नो जन्मदिन मनाउन चारवटा हेलिकोप्टर प्रयोग गरी विराटनगरबाट तयारी खाना गृहजिल्लामा ओसार्न लगाउनुका साथै विभिन्न्न वस्तुहरू वितरण गर्न निकै ठुलो धनराशि खर्च गर्दै राष्ट्रको ढुकुटीमा खेलबाड गर्ने र नेपालको नक्साको केक बनाएर काट्दा तपाईं आफैँ नवसामन्तको नमुना देखिनुभएको होइन र ? 

४१. राजाको प्रत्यक्ष शासनकालमा समेत अवसर छोप्न पुगेका झापाका डा. युवराज खतिवडालाई अवसरमाथि अवसर दिँदै सचिवालयका अधिकांश नेताहरूको असहमति हुँदाहुँदै राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएर पनि पुनः अर्थमन्त्री बनाउने तपाईं नै होइन र ? 

४२. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को राष्ट्र तथा सरकारप्रमुखहरूको टेले कन्फ्रेन्समा सार्कको अध्यक्ष भएर पनि त्यसको शिखर सम्मेलनका सन्दर्भमा कुनै चर्चा नगर्नु तपाईंको लम्पसारवादी चरित्रको द्योतक होइन र ? 

४३. संसद्बाट अनुमोदन नहुँदै एमसिसीसँगको सम्झौतामा उल्लेखित आयोजना नेपाल सरकारको नीति तथा कार्यक्रममा राख्नुका साथै बजेटमा रकमसमेत उल्लेख गरी स्वेच्छाचारी काम गर्ने तपाईं नै होइन र ? 

४४. कोरोना संक्रमित नेपाली जनताको निःशुल्क उपचार नगर्ने तपाईं प्रधानमन्त्री रहेको नेपाल सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टाई निःशुल्क उपचार गर्नू भनी आदेश दिएको होइन र ? 

४५. १० बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुन सक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कार्यान्वयन नहुने राजीनामा गर्ने जानकारी गराउँदा बेवास्ता गर्दै एकताको भावनामा चोट पुर्‍याउने तपाईं नै होइन र ? 

४६. षड्यन्त्र गरी नेकपालाई २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट भंग गर्नुमा तपाईंको पनि भूमिका थियो भन्ने कुरा तपाईंले ‘कहिलेकाहीँ अदालतले पनि राम्रो निर्णय गर्छ, ऋषि कट्टेलको पार्टीको नाम हुँदाहुँदै किन त्यही नाममा दिन्छ’ भनेबाट स्पष्ट हुँदैन र ? 

४७. जम्बो जेट दुई पाइलटले उडाएजस्तै हामी दुई (प्रचण्ड र केपी) नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षित चलाउँछौँ भन्ने तपाईंले पार्टीलाई एकताबद्ध राख्दै देश र जनताको हितमा सरकारका काम कुशलताका साथ गर्नुपर्नेमा पार्टी र सरकार दुवैलाई भड्खालोमा किन हाल्नुभयो ? 

४८. कथित महाधिवेशन आयोजक कमिटी भंग गर्न र हामीलाई पदाधिकारी पदबाट निष्कासन गरेको निर्णय फिर्ता लिन आग्रह गर्दा तपाईं तयार हुनुभएन । यसले तपाईंको विभाजनकारी र अहंकारी चरित्रलाई नै देखाउँदैन र ? 

४९. तपाईंले स्वेच्छाचारी किसिमले प्रतिनिधिसभाको दोस्रोपटक विघटन गर्नुभयो । यसले पार्टीमा अन्तरविरोध झनै चर्काएको होइन र? 

५०. आफैँले स्वीकृति दिएको कार्यदलले निकै नै परिश्रम गरी तयार गरेको सहमति नमानेर द्वन्द्व चर्काउने तपाईं नै होइन र ? यसो गर्नु अनैतिक राजनीति र बेइमानी होइन र ? 

५१. बालुवाटारमा सहमतिको प्रतिवेदन बुझाउने क्रममा तपाईं र माधव नेपालको बिचमा कुराकानीका लागि समय मिलाउनुको साटो स्थिति भाँड्ने काम तपाईंले नै गरेको होइन र ? 

५२. पार्टीलाई विभाजनबाट बचाएर एकता कायम राख्नका लागि गरिएका गम्भीर, कष्टसाध्य र इमानदार प्रयत्न तथा महत्वपूर्ण सहमतिको कार्यान्वयन नगरी भताभुंग गर्ने तपाईंले अरूतिर औँलो ठड्याउनुको कुनै औचित्य हुन्छ र ? 

५३. १० बुँदे प्रस्तावसहितको स्पष्ट निर्णय र निर्देशन र तपाईंको आफ्नै भनाइका विरुद्ध जानु अनैतिक र बेइमानीको पराकाष्ठा होइन र ? 

५४. १० बुँदे सहमतिलाई आफूलाई मन लागेको ठाउँमा कार्यान्वयन गराउने र मन नपरेको ठाउँमा कार्यान्वयन हुन नदिने चरम स्वेच्छाचारी काम गर्ने तपाईं नै होइन र ? 

५५. तपाईंले पटक–पटक, विशेष गरी २०७८ साल भदौ ७ गते, आफ्नै निवासमा, ‘पक्षपात गरिनेछैन’ भनी गरेको वाचाविपरीत किन काम गर्नुभयो ? 

५६. मेरो राजीनामालाई गम्भीर रूपमा लिएर छलफल गर्नुको साटो तपाईंले ‘भीम रावलले काम गर्न सकिनँ भनी १० बुँदे सहमति सहजीकरण समितिबाट राजीनामा दिएको’ भन्ने दम्भयुक्त झुटा कुरा गर्नुभएको होइन र ? 

५७. संवैधानिक परिषद्सम्बन्धी विधेयक नल्याउने र मिलेर जाने भनी नेताहरूसँग सहमति गरेर भोलिपल्टै सहमतिको उल्लंघन गर्दै चरम अनैतिक राजनीति र विग्रहकारी चरित्रको प्रदर्शन गर्ने तपाईं नै होइन र ? 

५८. एमालेमा नवप्रवेशी गैरसांसदलाई मन्त्रीमा गरेको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गर्दा त्यसको नैतिक दायित्व किन नलिएको ? 

५९. २०७८ जेठ ९ गते तपाईंले राष्ट्रहितविपरीत नागरिकता विधेयक ल्याएर अधिकारको दुरुपयोग गरेको होइन र? 

६०. शंकर पोखरेललाई २०७८ वैशाखमा मुख्यमन्त्रीको शपथ दिलाउन सेना परिचालन गर्ने र दीपक मनाङेलाई प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र ? 

६१. २०७७ साल माघमा संवैधानिक आयोगमा तपाईंले गर्नुभएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा शपथ गराउन तपाईंले किञ्चित नैतिकताको बोध किन गर्नुभएन ? 

६२. कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशको आधारमा सरकार गठन गर्न किन लगाउनुभयो त ? 

६३. दसौँ महाधिवेशनमा उम्मेदवारहरूलाई दरखास्त फिर्ता लिन करबल गर्नेलगायतका धाँधलीका काम तपाईंकै निर्देशनमा भएका होइनन् र ?

६४. २०८१ असोजमा अविरल वर्षका कारण भएको प्राकृतिक विपत्तिका वेला विदेश भ्रमण छोट्याएर स्वदेश फर्किने जनताप्रतिको दायित्व तपाईंले किन बोध गर्नुभएन ? 

६५. अमेरिकामा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा परराष्ट्रमन्त्री आरजु देउवा राणालाई स्टेट डिपार्टमेन्टमा पठाएर दुई देशबिच ‘विविध पक्ष’मा परामर्श र छलफल गर्ने भन्ने रहस्यमय सम्झौता किन गर्न लगाएको? 

६६. परराष्ट्रमन्त्री आरजु देउवा राणाले धनगढीमा पत्रकारहरूलाई भन्नुभएझैँ ‘झुटा मुद्दा बनाएर प्रतिशोध हुन थालेपछि’ त्यसबाट बच्न नयाँ गठबन्धन बनाउनुभएको हो त ? 

६७. तपाईं प्रधानमन्त्री भएपछि भए–गरेका कामकुराले राजनीतिक स्थायित्व, संविधान संशोधन र सुशासन नयाँ गठबन्धनको मूल औचित्य भन्ने देखाउँछ त ?

६८. गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा तपाईंं तानिन सक्ने भएपछि रातारात कांग्रेससँग गठबन्धन गर्न उद्यत् भएको भन्ने व्यापक चर्चाबारे तपाईंको भनाइ के छ? 

६९. केही समयअघि भाटभटेनीको मूल्य अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारीलाई तपाईंले हप्कीदप्की गर्दै अनुगमन गर्न नदिएको र अहिले उनैबाट जग्गा लिने कुराको सम्बन्ध के हो र ? 

७०. तपाईंले रवि लामिछानेलाई पार्टी खोल्न सहमति दिएको भन्नुभएछ । कुन स्वार्थमा त्यसो गर्नुभएको हो ? कम्युनिस्ट पार्टीको नेता भएर कुनै व्यक्तिलाई विरोधी पार्टी खोल्न सहमति दिन्छ ? यही हो पार्टीप्रतिको निष्ठा ? 

७१. तपाईंले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथ लिइरहँदा उहाँले वाचन गरेको र तपाईंले वाचन गर्नैपर्ने वाक्यांशलाई वाचन नगरी ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपति, देश र प्रधानमन्त्रीको मर्यादामा आँच पुर्‍याएको हो कि होइन ? 

७२. नेपालको लिपुलेक भञ्ज्याङको प्रयोगका सम्बन्धमा भारत र चीनको उस्तै धारणा बाहिर आउँदा तपाईं मौन रहनुको अर्थ के ? सरकारको पहिलो काम सीमाको रक्षा र जनताको सुरक्षा गर्नु होइन र ? 

७३. सचिवालयको बैठकमा विन्दा पाण्डे, उषाकिरण तिमिल्सिना र मलाई कारबाही गर्न उचित हुन्न भनी धेरै उपाध्यक्ष, उपमहासचिव र सचिवहरूले व्यक्त गरेको राय–सुझावलाई कुल्चेर अगाडि बढ्ने तपाईंको शैली र व्यवहार निरंकुश र दमनकारी पुष्टि हुँदैन र ?

७४. महासचिवले ‘भीम रावललाई हामीले निकालेका होइनौँ, आफैँ छोडेर गएको हो’ भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ?