पोखरामा जारी २१औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८१ अन्र्तगत मेन्स सिंगल्सतर्फ उपाधिका लागि आरव सम्राट हाडा र प्रनव मानन्धरसँगै गर्ल्सतर्फ सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजना एवं माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न मेन्स सिंगल्सतर्फको सेमिफाइनलमा आरवले प्रदीप खड्कालाई ६–०, ४–६ र ६–१ ले पराजित गर्दा प्रनवले निशान श्रेष्ठलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेका हुन्। यसैगरी, गर्ल्सतर्फ सलोनीले प्रकृति श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिका विष्टलाई ६–३, ६–३ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन्।
प्रतियोगिताअन्तर्गत सोमबार नै सम्पन्न मेन्स डबल्सतर्फ निहाल जंगबहादुर थापा र आरव सम्राट हाडाको जोडीले प्रनव मानन्धर र राजवीर प्रधानको जोडीलाई ६–२, ६–१ ले, ६५ वर्षमाथि सिंगल्समा विदुर विष्टले ध्रुव गुरुङलाई ४–२, २–४ र ९–७ ले, ६५ वर्षमाथि डबल्समा विदुर विष्ट र मनोज राणाको जोडीले ध्रुव गुरुङ र रवीन्द्रको जोडीलाई ४–२, ४–१ ले, ४५ वर्षमाथि डबल्समा चन्द्र शाही र देवेन्द्र श्रेष्ठको जोडीले हेमराज ढकाल र मानबहादुर कटुवालको जोडीलाई ६–०, ६–३ ले, ५५ वर्षमाथि डबल्समा युगेन शेर्पा र जित प्रधानको जोडीले जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै उपाधि हात पारे।
३५ वर्ष माथि सिंगल्समा पूर्वनम्बर १ जितेन्द्र परियार र सन्तोष खत्री, ४५ वर्षमाथि सिंगल्समा रोहित सुनुवार र कमल भण्डारी, ५५ वर्षमाथि जीवन घिमिरे र चन्द्र शाही उपाधिका लागि भिड्ने भएका छन्।