नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरलाई ड्रिम अन एजुकेसन कन्सल्टेन्सी प्रालिले ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा अन्जना र ड्रिम अनका प्रबन्धक भीमबहादुर थापाले सम्झौता-पत्रमा हस्ताक्षर गरे। सम्झौता एक वर्षको हुनेछ। सम्झौता रकम भने खुलाइएको छैन।
गोलकिपर अन्जनाले सम्झौतासँगै आगामी खेल खेल्न हौसला मिलेको प्रतिक्रिया दिइन्। 'यस्ता सम्झौताले नेपालमै खेल्न र बस्न सहज वातावरण हुने विश्वास छ,’ अञ्जनाले भनिन्, ‘हौसला बढेको छ। आगामी महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्न उत्साहित भएकी छु।
अन्जना विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन्। महिला लिगको दोस्रो चरण आगामी बिहीबारबाट सुरु हुँदै छ।