भन्छन्– पैसा कमाउन विदेश जाने वा सरकारी जागिर नै खानुपर्छ भन्ने छैन, आफूभित्रको सीपलाई चिन्न र प्रयोग गर्न सक्नुपर्छ
वैदेशिक रोजगारमा युवाहरू बिदेसिने क्रम दिनानुदिन बढ्दो छ । यहीँ भएका युवाहरू कि त यत्तिकै बसेका छन् कि सजिलो जागिरलाई प्राथमिकता दिएका छन् । उनीहरूमध्ये स्वरोजागरमूलक काम गर्ने या जोखिम मोल्ने निकै कम छन् । यसैबिचमा यस्ता युवा पनि छन्, जसले स्नातकोत्तरसम्म अध्ययन गरेर पनि मूर्ति बनाउने पेसालाई अँगालेका छन् र गरेका छन् मनग्य आम्दानी पनि ।
सल्यानको बागचौर नगरपालिका– ९ मा जन्मिएका टोपेन्द्र डाँगीले मूर्ति बनाउने पेसालाई व्यावसायिक बनाएका छन् । दैनिक मूर्ति बनाउनमै व्यस्त रहने डाँगीले वार्षिक ३०–४० लाखभन्दा बढी आम्दानी गर्दै आइरहेको बताउँछन् । ‘पैसा कमाउन विदेश वा सरकारी जागिर नै खानुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘सबै व्यक्तिमा कुनै न कुनै सीप हुन्छ । उक्त सीपलाई चिन्न र प्रयोग गर्न सक्नुपर्छ ।’
स्नातकोत्तर गरेका उनको सात वर्षको शिक्षण पेसानुभवसमेत छ । शिक्षण पेसामा चित्त नबुझेपछि मूर्ति बनाउने पेसामा लागेका उनले गत वर्ष मात्र ४० लाखबराबरको कारोबार गरे । यो वर्ष कारोबार थप बढ्ने बताउँछन् । ‘पढी–लेखी जागिर नै खानुपर्छ भन्ने मनमा आएन,’ उनी भन्छन्, ‘आफूले गरेको कामप्रति सन्तुष्ट रहनुपर्छ ।’ हातमा सीप र कला भए आम्दानी गर्न कहीँकतै जानुनपर्ने उनको भनाइ छ । मूर्तिकार डाँगीले निर्माण गरेको एउटै मूर्तिको मूल्य पाँच लाखसम्म लिने गरेका छन् । सामान्यतया १० हजारदेखि पाँच लाखसम्मको मूर्ति बिक्री गर्छन् । मूर्तिको मूल्य आकारप्रकार अनुसार निर्धारण हन्छ । चाडपर्वमा देवीदेवताका मूर्ति बनाउन भ्याई–नभ्याई हुने बताउँदै उनले अरू समयमा खाली बस्नुनपरेको बताए । तर, फिल्डमा गएर बनाउनुपर्दा भने मूल्य अलि बढी पर्न जान्छ । ‘एउटा मूर्ति बनाउन एक हप्तादेखि एक महिनासम्म लाग्छ,’ उनी भन्छन्, ‘प्रायःजसो फिल्डमा नै गएर मूर्ति बनाउनुपर्ने भएकाले मूर्तिको मूल्य अलि बढी पर्छ ।’
चारजनालाई रोजगारी
स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भइरहँदा डाँगीले भने चारजनालाई रोजगारी दिएका छन् । कामदारलाई मासिक तलबमा भन्दा पनि मूर्तिको साइज र मूल्यअनुसार दिने गरेको डाँगीले बताए । उनका अनुसार एउटै कामदारले कामको प्रकृति हेरी ५० हजारसम्म रकम पाउने गरेका छन् । पेसा–व्यवसाय सानो–ठूलो नहुने बताउँदै उहाँले सामान्य खालको पेसा–व्यवसायबाट पनि राम्रो आम्दानी लिन सकिने उनको बुझाइ छ ।