सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको पदाधिकारीका लागि बिहीबारसम्म ७६ जनाको आवेदन परेको छ । दुवै आयोगका पदाधिकारी चयन गर्न गठित सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐनबमोजिम आवेदन आह्वान गरेको थियो । ऐनको दफा ४ मा दुवै आयोगका अध्यक्ष र सदस्यको योग्यताबारे व्यवस्था छ ।
आवदेन दिन एक साताका लागि दिएको समय बिहीबार सकिएको छ । निर्धारित समयसम्म ७१ जनाले भौतिक रूपमा र पाँचजनाले अनलाइनमार्फत आवेदन दिएको कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार सरोकारवालाको सुझावमा सिफारिस समितिले आवेदन दिने समय पाँच दिन थप्ने निर्णय गरेको छ । ‘केही व्यक्ति तथा संस्थाबाट समय छोटो भएको गुनासो आएकाले सिफारिस समितिले ४ मंसिर अपराह्न ५ बजेसम्म समय थप्ने निर्णय गरेको छ,’ अर्यालले भने ।
ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिमा मानव अधिकार आयोगबाट आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन् । समितिले दुइटै आयोगमा अध्यक्षसहित पाँच–पाँचजना पदाधिकारी नियुक्तिका लागि प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारलाई सिफारिस गर्नेछ । दुवै आयोग असार ०७९ देखि पदाधिकारीविहीन छन् ।
गत भदौमा बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन) विधेयक संसद्बाट पारित भई कानुन बनेपछि दुवै आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।