एक वर्षअघि हमासले इजरायलमा करिब १२ सय व्यक्तिको हत्या गर्यो भने दुई सय ५० भन्दा बढीलाई बन्धक बनायो । त्यसयता इजरायलले गाजाको अधिकांश भागलाई भग्नावशेषमा परिणत गरिदिएको छ । ४० हजारभन्दा बढी मारिएका छन, जसमा १०–२० हजार हमास लडाकु रहेको बताइन्छ । सात सयभन्दा धेरै इजरायली सैनिकले पनि ज्यान गुमाइसकेका छन् । युद्ध अझै सकिएको छैन । कुनै दिन नयाँ आक्रमण र हताहतीविना बित्दैन । तर, गाजा युद्धको तीव्र चरण समाप्त हुँदै गएजस्तो देखिन्छ । हमासको सैन्य पतनसँगै इजरायलको ध्यान लेबनानका हिजबुल्लाहतर्फ सारेको छ । यसर्थ, ७ अक्टोबरको लेखाजोखा गर्दा हतार गरेको नहोला ।
इजरायल इतिहासमा दोस्रोपटक स्तब्ध बन्यो (पहिलोपटक सन् १९७३ को अक्टोबर युद्धमा बनेको) । हमासको योजनाबारे चेतावनी दिइए पनि इजरायलले गम्भीरतापूर्वक लिएन । गाजासँगको सीमालाई असुरक्षित छोड्दै ‘इजरायली डिफेन्स फोर्स’का अधिकांश बटालियन वेस्ट बैंकमा तैनाथ गरिए, जुन ५० वर्षअघिकै जसरी महँगो साबित भयो । ७ अक्टोबरको आक्रमणले ‘शत्रुको शत्रु मित्र हुन्छ’ भन्ने भनाइलाई झुटो साबित गरिदियो । प्यालेस्टाइनी प्राधिकरण (पिए)लाई ठेगानमा राख्न एक दशकसम्म इजरायली सरकारले हमासलाई पर्याप्त आर्थिक सहयोग प्रदान गरेको थियो ।
नेतन्याहुको लक्ष्य प्यालेस्टिनीहरूलाई विभाजित गर्नु, तिनको राष्ट्रवादको आवाजलाई भुत्ते पार्नु र द्विराज्य समाधानलाई असम्भव तुल्याउनु थियो । पिएलाई कमजोर बनाउनमा त सफलता प्राप्त गर्यो, तर हमासलाई किन्न असफल भयो ।युद्ध सैन्य उपक्रमजत्तिकै राजनीतिक उपक्रम पनि हो । युद्धभूमिमा युद्ध जित्न र हार्न पनि सकिन्छ ।
युवा पुस्ताले इजरायललाई नायकभन्दा पनि खलनायक, उत्पीडितभन्दा पनि उत्पीडक ठान्न थालेका छन्, यहुदीविरोधी भावना बढेको छ
सैन्य सफलतालाई स्थायी सुरक्षामा रूपान्तरण गर्नुपर्ने हुन्छ । तर, इजरायलले व्यावहारिक प्रस्तावका लागि पिए र अरब शक्तिको भूमिका आवश्यक हुन सक्ने भयका कारण कुनै पनि प्रस्ताव अघि सार्न अस्वीकार गरेको छ । उनीहरूको भूमिकाले ‘प्यालेस्टिनी राज्य’तर्फको गति बढाउने र इजरायली आन्तरिक कलहलाई उत्प्रेरित गरी नेतन्याहुको सरकारलाई अपदस्थ गर्न सक्ने भय इजरायललाई छ । यसर्थ, इजरायल हमासको उन्मूलन नै सफलता हुने बताउँदै छ, जसलाई पूरा गर्न सकिँदैन । यसरी इजरायल नजितेर हार्नेछ भने हमास नहारेर जित्नेछ । हमास एक संगठनका रूपमा एउटा विचार र सञ्जाल हो । यसर्थ, यो कुनै न कुनै रूपमा जीवित रहनेछ र पुनर्गठनको क्षमतालाई पनि कायमै राख्नेछ ।
७ अक्टोबरयता जे भएको छ, त्यसले मध्यस्थकर्तालाई पनि केही सिकाएको छ । चाहे त्यो मित्र होस् वा शत्रु, उसको व्यवहार परिवर्तन गर्न बिन्तीभाउमा मात्र भर पर्न सकिँदैन । कूटनीतिलाई सधैँ प्रोत्साहन र प्रतिबन्धले समर्थन गर्नुपर्छ । यसबाहेक, मध्यस्थकर्ताले पक्षहरूले भन्दा बढी सफलता चाहेमा पनि कूटनीति सफल हुन सक्दैन । पक्षहरू नै निरन्तर द्वन्द्वभन्दा सम्झौता नै उत्तम हुने निष्कर्षमा पुग्नुपर्छ । जब प्रतिद्वन्द्वी अन्यथा निष्कर्षमा पुग्छन्, जतिसुकै राम्रो मनसायको जुनसुकै स्तरको मध्यस्थता पनि सफल हुन सक्दैन ।
७ अक्टोबरले आशावादितालाई खासै आधार प्रदान गर्दैन । द्विराज्य समाधान थप टाढा पुगेको छ । स्वतन्त्र प्यालेस्टाइनी राज्यका साथमा सुरक्षित रहन सकिनेबारे इजरायलीहरूको शंकालाई गत अक्टोबरले थप बलियो बनाइदिएको छ । साथै, इजरायली प्रतिक्रियाले गाजा, वेस्ट ब्यांक र इजरायलका प्यालेस्टिनीमाझ इजरायलविरोधी भावनालाई थप बलियो बनाएको छ भने इजरायलसँगको शान्तिपूर्ण सहअस्तित्वमा कुनै चासो नराख्ने हमासको अपिललाई थप बलियो बनाएको छ । कुल परिणाम ‘समाधान विहीन एक राज्य’को देखिन्छ । अर्थात् भूमध्य सागर र जोर्डन नदीबिचको क्षेत्रमा इजरायलको नियन्त्रण हुनेछ र गाजा र वेस्ट बैंकमा इजरायली सुरक्षा बल र हमास वा अन्य लडाकुबिच बारम्बार भिडन्त भइरहनेछ ।
इजरायलले जनधन मात्र होइन, प्रतिष्ठामा पनि ठुलो क्षति व्यहोरेको छ । युवा पुस्ताले इजरायललाई नायकभन्दा पनि खलनायक, उत्पीडितभन्दा पनि उत्पीडक ठान्न थालेका छन । यहुदीविरोधी भावना बढेको छ । द्विराज्य समाधानको सम्भावना सकिएसँगै इजरायलले एक यहुदी राज्य कि एक लोकतान्त्रिक राज्यको वायनरी विकल्प सामना गर्नुपर्ने हुन्छ । हिजबुल्लाह र हुथीहरू कमजोर हुनु स्वागतयोग्य भए तापनि यसले यी वास्तविकतामा भने परिवर्तन गर्दैन । इरानले आक्रमणको मूल लक्ष्यमध्ये एउटा हासिल गरेको छ, अर्थात् अरब र इस्लामिक जगत्को शक्ति साउदी अरबको इजरायलसँगको औपचारिक कूटनीतिक सम्बन्धको स्थापनालाई थप कठिन बनाइदिएको छ ।
अमेरिकाले पनि उच्च मूल्य चुकाइसकेको छ । इजरायली नीतिलाई प्रभावित गर्न नसक्दा अरब जगत्मा उसको स्थान गुमिसकेको छ । ऊसँग इजरायल पनि केही रुष्ट छ । यसबाहेक, अमेरिका पुनः मध्यपूर्वमा गहन रूपले संलग्न हुन पुगेको छ, जब कि उसको रणनीतिक प्राथमिकता एसिया–प्रशान्तमा चीनलाई रोक्नु, युरोपमा रुसको सामना गर्नु हो । यी सबैले चीन, रुस, उत्तर कोरिया र इरानलगायत पश्चिमविरोधी धुरीलाई भने पक्कै सन्तुष्टि दिएको छ ।
हरेक इजरायली सरकारले ‘पिए’लाई कमजोर पार्ने निर्णय गरे भने हमासको खतरालाई कम आकलन गरे, जसका कारण उसले क्रूर आक्रमण गरेर फाइदा उठायो । इजरायलले सैन्य रूपमा प्रतिक्रिया त जनायो राजनीतिक रूपमा प्रतिक्रिया जनाउन भने चुक्यो । यसैगरी, अमेरिकाले आफ्नो अधिकांश कूटनीतिक पुँजी कुनै पनि पक्षले नचाहेको युद्धविरामको व्यर्थको वकालतमा खर्चियो । मध्यपूर्वले निकै ठूलो मानवीय, आर्थिक तथा कूटनीतिक मूल्य चुकाएको छ र विश्वको सबैभन्दा समस्याग्रस्त क्षेत्र अझ खराब स्थितिमा पुगेको छ ।
(हास अमेरिकी विदेश विभागमा योजना निर्देशकका रूपमा काम गरिसकेका व्यक्ति हुन्) प्रोजेक्ट सिन्डिकेट