१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
दीपक बिष्ट
Invalid date format २२:४१:oo
Read Time : > 4 मिनेट
१८औँ वार्षिकोत्सव विशेषांक

नेपाली खेलकुद, सधैँ दलको भर्तीकेन्द्र

पदमा जो आए पनि खेलकुदको विकासभन्दा पार्टीका कार्यकर्ता भर्ती गर्ने गलत प्रवृत्ति हाबी छ

Read Time : > 4 मिनेट
दीपक बिष्ट
नयाँ पत्रिका
Invalid date format २२:४१:oo

खेलकुदको विडम्बना नै मान्नुपर्छ तीन निकाय तीनतिर फर्किएका छन् । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी– एकले अर्काको अस्तित्व स्वीकार गर्दैनन् । खेल विकासभन्दा पनि पार्टी र आफ्नो मान्छे बनाउन केन्द्रित छन् । खेलकुद सधैँ पार्टीका कार्यकर्ता भर्तीकेन्द्र भएका छन् । पदमा जो आए पनि यो गलत प्रवृत्ति हाबी छ । तीन निकायबिचको द्वन्द्व पहिले कम थियो, अहिले झाँगिएको छ । पहिले ओलम्पिक कमिटी र राखेपको लडाइँ विदेश भ्रमणका लागि हुन्थ्यो, अहिले पनि त्यही झगडा छ । विडम्बना नै मान्नुपर्छ । 

खेलकुद मन्त्रालय, राखेप र नेपाल ओलम्पिक कमिटीबिच सहकार्य हुनुपर्ने हो । खेलकुद विकासका लागि सहकार्य र समन्वय हुने हो भने नेपालले खेल क्षेत्रमा अझ धेरै प्रगति गर्न सक्छ । तर, ठिक उल्टो भइरहेको छ । पूर्वाधारमा लगानी बढ्न सकेको छैन । युवराज लामा राखेपको सदस्यसचिवबाट बाहिरिएपछि भौतिक पूर्वाधारका संरचना बन्नै सकेका छैनन् । नेतृत्वले चाहना नै राखेन सायद । कमजोर व्यक्ति खेलकुदमन्त्री बनेर आउँछन्, त्यो पनि छोटो समयका लागि । खेलकुद बुझ्नै लाग्दा सरकार नै परिवर्तन हुन्छ । अझ मन्त्री र सदस्यसचिवबिच जुहारी चलिरहेको हुन्छ । मन्त्री सदस्यसचिव हटाउन लाग्छन्, अनि सदस्यसचिवको समय मन्त्री फकाउँदै सकिन्छ । 

अर्काे पक्ष, खेलकुद विकासका लागि अर्थ मन्त्रालयको प्राथमिकतामै पर्दैन । न्यून बजेट हुन्छ । छुट्याएको बजेट पनि खर्च हुँदैन, त्यो भनेको नेतृत्व नालायक भएकैले हो । 
म खेलाडीका रूपमा मैदानमा छँदाताका खेलकुदमा कर्मचारीदेखि पदाधिकारीको ध्यान पदकमा हुन्थ्यो । सेवासुविधा अहिलेजस्तो नभए पनि मिहिनेतले काम गर्थे । तर, अहिले पदाधिकारी काम नै गर्दैनन्, पदक जित्ने लक्ष्य खेलाडी र प्रशिक्षकको मात्रै हुन्छ । 

पहिलेका पदाधिकारी खेलाडीका लागि सोच्थे, अहिलेका पदाधिकारी आफ्ना लागि सोच्छन् । कसरी हुन्छ, आफ्नो पेट भरौँ, आफैँ देश–विदेश घुमौँ । खेलाडीले झुक्किएर पदक ल्याउँदा आफ्नो कार्यकाल सफल भयो भन्ने छ । 

ठुला पूर्वाधारमा लगानी  
अभ्यास गर्न पहिलाको भन्दा अहिले केही सहज भएको छ र पूर्वाधार पनि बनेका छन् । अभ्यासमा केही फरक छ । जिल्लासम्म खेलकुदमा पूर्वाधार बनेका छन् । तर, खेलकुदका ठुल्ठुला पूर्वाधार बन्न सकेका छैनन् । बनेकाको पनि सुरक्षा र संरक्षण गर्न सकिएको छैन । 

मैले खेल सुरु गर्नुअघि शरदचन्द्र शाहका पालामा बनेका संरचनामै खेलकुदमा ठुला प्रतियोेगिता भइरहेका छन् । युवराज लामा राखेप सदस्यसचिव हुँदा जिल्ला–जिल्लामा कभर्डहल बने, त्यो राम्रो थियो । पूर्ण रूपमा पूर्वाधार बन्न सकेका छैनन् । 

अर्काे विडम्बना भनेको खेलकुद क्षेत्रमा योजना नै छैन । सदस्यसचिव आएपछि कुन वर्ष के काम गर्ने भनेर चार वर्षको योजना बनाउन सकेका छैनन् । मेडल ल्याउने, एकेडेमी बनाउने योजना खोइ ? पुराना खेलाडी जति पलायन भइसकेका छन्, नयाँ ल्याउने कुनै योजना नै छैन । ०६२÷६३ अघि खेलाडीलाई विदेशमा प्रशिक्षण गर्न पठाउने, प्रशिक्षकलाई स्तरवृद्धि गर्न विभिन्न कोर्स गर्न विदेश पठाउने गरिएको रहेछ, अहिले छैन ।

संसारभर विकसित देशले एकेडेमी सञ्चालन गरेका छन् । सम्भावना भएका खेलाडीलाई १२ महिना नै अभ्यास गर्न, त्यहीँ पढ्ने, त्यहीँ खेल्ने वातावरण छ । अनि पो पदक पनि सहजै आएको छ । नेपालमा वातावरण नै छैन । खेलकुद क्षेत्रमा योजना बनाउने मान्छे आवश्यक छ । खेल संघलाई वर्गीकरण गरेर योजना बनाउने हो भने पदक आउँछ । 
आगामी एसियन गेम्सका लागि बल्ल मिसन ०२६ बनाइएको छ । तर, जसरी नाम राखियो त्यसअनुसारको लगानी छैन । महŒवाकांक्षी योजनामा पदक ल्याउनुप¥यो । सन् १९८३ मा हामीले आठ पदक ल्यायौँ, त्यसपछि बल्ल दुई पदक आएको छ । संघलाई वर्गीकरण गरेर सबै जिम्मेवारी संघलाई दिएर जानुपर्छ । काम गर्ने र नगर्ने संघ छुट्याएर रेलिगेसन र बढुवा पनि गर्नुपर्छ । राजनीति र शक्तिका आडमा आउने संघलाई जिम्मेवारी दिनुहुँदैन, त्यस्तो नेतृत्व आवश्यक छ । 

स्मार्ट पुस्ताका खेलाडी
०६२÷६३ मा म करिअरकै उच्च लयमा थिएँ, राष्ट्रिय च्याम्पियन भइसकेको थिएँ । दक्षिण एसिया र एसियामै तेक्वान्दोमा आफ्नो क्षमता देखाइरहेको थिएँ । पदक कसरी जित्ने र नाम चम्काउने भन्ने लाग्थ्यो । आफ्नै बलबुताले मिहिनेत गरिन्थ्यो । मिहिनेत, अनुशासन र त्याग थियो । तर, पढाइ भने कम थियो । पढाइमा ध्यान दिनभन्दा पनि खेलमै रमाउँथ्यौँ । तर, अहिलेको पुस्ता प्रविधिमैत्री छ, स्मार्ट छन् । अध्ययनशील छन् । क्षणभरमै नयाँ–नयाँ कुरा पत्ता लगाउँछन्, नतिजा पनि चाँडै निकाल्न चाहन्छन् । नयाँ–नयाँ प्रविधि आफैँले खोजेर तयारी गर्छन् । तर, चाँडै बिर्सने बानी भने समस्याका रूपमा छ । 

अहिले खेलाडीलाई प्रशिक्षण गर्न काठमाडौं आउने माध्यम राम्रो बनेको छ । सुरुका पुस्ताको संघर्षले पनि फाइदा पुगेको हो । 
यद्यपि, स्थानीयस्तरमा खेलेरै राष्ट्रियस्तरको खेलाडी बन्न निकै कठिन छ । यदि कोही खेलाडीले स्तरीय बन्न र राष्ट्रको प्रतिनिधित्व गर्ने हो भने ऊ उपत्यकाकेन्द्रित हुनैपर्छ, यो नेपालको बाध्यता हो । मेचीदेखि महाकालीसम्मकै समस्या यही हो । काठमाडौं आउनै संघर्ष निकै गर्नुपर्छ । अहिले विभागीय टिमले राम्रा खेलाडी राखेका छन् र नेपाली खेलकुद चलेको छ । विभागीय तीन टिमले यसरी खेलाडी राख्दैनथे भने नेपाली खेलकुद यहाँ पुग्नै सक्दैनथ्यो, खेलाडी टिकाउनै समस्या हुन्थ्यो ।

खेलाडीलाई स्वार्थकृत माया
पहिले झगडा भए पनि खेलाडीलाई माया गर्नुपर्छ, अभ्यास गराउनुपर्छ, सुविधा दिनुपर्छ भन्ने भावना पदाधिकारीमा हुन्थ्यो । तर, अहिले स्वार्थको माया मात्रै छ । जित्दा मात्रै माया गर्ने परम्परा छ । खेलाडीले पदक जित्दा खेलकुद निकायकाले मात्रै होइन, देशकै चर्चित नेताबाट फोन र सम्मान आउँछ । सामाजिक सञ्जालमा बधाई दिन र जस लिन भ्याइ–नभ्याइ हुन्छ । 

तर, त्यही खेलाडीले कसरी पदक ल्यायो ? के कारण ल्याएन ? सेवा–सुविधा कस्तो छ ? पारिवारिक अवस्था कस्तो छ ? यो प्रश्नको उत्तर न खेलकुदमा लागेकाले सोच्छन्, न त ती नेताले सोध्न नै भ्याएका छन् । खेलाडीले आफ्नै संघर्ष र मिहिनेतले ती पदक आएका हुन् । 

पहिले–पहिले प्लानिङ हुँदैन थियो । तीन महिनाअघि खेल्न बोलाइन्थ्यो । मुडेबलले पदक ल्याउने गरेका थिए । त्यसरी नै धेरै पदक आएका पनि थिए । तर, अहिले त्यो छैन, झुक्किएर आयो भने आयो, नत्र छैन । समग्रमा राजनीति खेलकुदमा पहिलाको भन्दा बढी हाबी भएको छ । खेलाडीबारे सोच्ने कुनै पदाधिकारी छैनन् । अहिले म मिसन २०२६ को संयोजक हुँ । कुनै पनि राखेपका पदाधिकारी खेलाडीको अवस्था कस्तो छ, के सुविधा चाहिन्छ भन्नेर सोध्न आएका छैनन् । मुख्य कुरा खेलकुद बुझेको मान्छे नै यहाँ आउँदैनन्, यो अर्काे विडम्बना हो । योजनाअनुसार काम हुन सकेका छैनन् । पदक ल्याउनेभन्दा पनि राजनीतिक दलका मान्छे भिœयाउने भर्तीकेन्द्र खेलकुद बनेको छ । 

पलायन रोकिँदैन
राजनीति र शक्तिको केन्द्रमा रहँदा पदाधिकारीले काम नै गर्न सकेका छैनन् । खेलाडीको हकहितका लागि भन्दा पनि आफ्नै स्वार्थ पूरा गर्न लागेका छन् । घिनलाग्ने राजनीतिकै कारण खेलाडी दुःखी छन् । खेलाडी धेरै पलायन भएका छन् । नयाँ ल्याउने योजना नै छैन । अहिले नै हेर्ने हो भने दसौँ खेलकुद प्रतियोगिता हुने या नहुने टुंगो छैन । ओलम्पिक निशानामा पारेर यता प्रतियोगितालाई वास्ता नै गरिएको छैन । बोल्न पाएँ भन्दैमा खेलकुद सकाउने काम यहाँ पनि भएको छ । 

खेलाडीलाई अहिलेभन्दा सम्मान पहिला नै थियो । पैसा मात्रै देखाउने खालको सम्मान अहिले छ । त्यसैले खेलाडी पलायन बढेको छ, यो रोकिनेवाला छैन । सबै खेलाडी अहिले आफ्नो गुजारा चलाउन ध्यान दिन्छन् । अहिले खेलाडी मात्रै त्यस्तो होइन, आर्मी, पुलिस, बैंकका कर्मचारी त विदेश जान थालेका छन् । यो क्रम रोकिने वाला छैन । 

सबैले सामाजिक सुरक्षा खोज्छ, भविष्य हेर्छ । राम्रो पदक ल्याउनेलाई अहिले पनि भविष्य सुरक्षित छ । तर, घरपरिवारको कारण ती खेलाडी पदक ल्याउनभन्दा पनि सुन्दर भविष्य खोज्छन् । पदक जित्दा त ठिक छ, पदक नजित्दा राज्य, संघ र पदाधिकारीको नजरमा पर्न सक्दैन । 

त्यसैले खेलाडी अहिले पनि भिसा लगाएर बसेका छन् । खेलाडीको ध्यान नै अमेरिका, क्यानडा, युरोपतिर जाने छ । क्षमतावान्लाई राज्यले आवश्यक सेवा–सुविधा दिने हो भने पदक ल्याउन र देशमै बस्न सक्छन् । खेलाडीलाई खेलेरै खान सक्ने वातावरण बनाउन सक्नुपर्छ ।