
नेपालगन्जमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा रौतहट जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा घरेलु टिम बाँके–११ लाई ३–० ले पराजित गरि रौतहट जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको हो। रौतहटसँग पराजित भएसँगै बाँके–११ मैदानबाट बाहिरिएको छ।
सुरुवातदेखि नै दबाबमा राखेको रौतहटको तर्फबाट २८औँ मिनेटमा जेनिफर रानामगरले गोल गरिन्। बाँकेको टिमले उत्कृष्ट खेले पनि गोल गर्न सकेन। रौतहटकी समीक्षा राईले ४५औँ मिनेटमा अर्को गोल गरी टिमलाई अग्रता दिलाइन्।
एकतर्फी भएको खेलमा रौतहटकी पियाली राओले ५१औँ मिनेटमा गोल गरिन्। आइतबारको प्रतियोगितामा रौतहटकी सिम्रन राई म्यान अफ द म्याच बनिन्। उनलाई कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले पुरस्कार प्रदान गरेका थिए।
लुम्बिनी कप महिला फुटबलअन्तर्गत सोमबार सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली एफसीबिच खेल हुने आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले जानकारी दिए।