१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार o५:४४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गृह मन्त्रालयको नयाँ भवन सिंहदरबारकै आधुनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार o५:४४:oo
बेसमेन्ट पार्किङसहितको भवन ८३ मिटर लामो छ । भवनको  भुइँतलाको एकातर्फ पुस्तकालय तथा अर्काेतर्फ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र रहनेछन् । पहिलो तलामा जानका लागि तारे होटेलका भवनजस्तै दुईतर्फ ठुला भर्‍याङ निर्माण गरिएको छ । बेसमेन्ट पार्किङ २५०० स्क्वायर मिटर छ । जुन ३५० साना गाडी र डेढ सय मोटरसाइकल क्षमताको छ । यसले सिंहदरबारभित्रको पार्किङ समस्या पनि केही हदसम्म कम हुने मन्त्रालयका अधिकारी बताउँछन् । तर, पार्किङको प्रवेश गर्ने र निस्कने ठाउँ एउटै र साँघुरो भएकाले भने समस्या हुने देखिन्छ । भवनमा दुईवटा लिफ्ट छन् भने उत्तर र दक्षिणतर्फ आपत्कालीन फलामे भर्‍याङ जडान गरिएको छ ।  तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सिंहदरबारभित्र गृह मन्त्रालय रहेको भवननजिकै अर्को आकर्षक भवन तयार भएको छ । बाहिरबाट हेर्दा नै उक्त भवन सिंहदरबारकै भवनहरूमा फरक देखिन्छ । अगाडिको भागमा सिसा राखिएको भवनको भित्र कोठाका डिजाइनदेखि शौचालयलगायत संरचना पनि आधुनिक छन् । यो गृह मन्त्रालयकै नयाँ भवन हो, जहाँ चालू आर्थिक वर्षभित्रै मन्त्रालय सर्दै छ । 

बेसमेन्ट पार्किङसहितको भवन ८३ मिटर लामो छ । भवनको  भुइँतलाको एकातर्फ पुस्तकालय तथा अर्काेतर्फ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र रहनेछन् । पहिलो तलामा जानका लागि तारे होटेलका भवनजस्तै दुईतर्फ ठुला भर्‍याङ निर्माण गरिएको छ । 

पहिलो तलामा गृहमन्त्री र गृहराज्यमन्त्रीका लागि कार्यकक्ष बनाइएको छ । दोस्रो तलामा गृहसचिव र महाशाखा प्रमुख तथा तेस्रोमा अन्य कर्मचारीका कार्यकक्ष रहनेछन् । चौथो तलामा ठुलो बैठक कक्ष बनाइएको छ । जसमा ३५० जना बस्न मिल्ने निर्माण कम्पनी माउन्टेन–सत्येश्वर जेभीका इन्जिनियर संगीतकुमार चौधरीले बताए । उनका अनुसार भवनलाई तीन ब्लकमा बाँडिएको छ । यो भवन साढे दुई वर्षमा तयार भएको हो । ‘भूकम्प प्रतिरोधी प्रणालीमार्फत भवन बनाइएकाले एउटा ब्लकले अर्काे ब्लकलाई असर नगर्ने गरी निर्माण गरिएको हो,’ इन्जिनियर चौधरीले भने । 

बेसमेन्ट पार्किङ २५०० स्क्वायर मिटर छ । जहाँ ३५० साना गाडी र डेढ सय मोटरसाइकल क्षमताको छ । यसले सिंहदरबारभित्रको पार्किङ समस्या पनि केही हदसम्म कम हुने मन्त्रालयका अधिकारी बताउँछन् । तर, पार्किङको प्रवेश गर्ने र निस्कने ठाउँ एउटै र साँघुरो भएकाले भने समस्या हुने देखिन्छ । भवनमा दुईवटा लिफ्ट छन् भने उत्तर र दक्षिणतर्फ आपत्कालीन फलामे भर्‍याङ जडान गरिएको छ । 

नयाँ भवन आधुनिक शैलीको भएको मन्त्रालयका सहसचिव डा. जयनारायण आचार्य बताउँछन् । ‘यो भवन सिंहदरबारमा अरू भवनभन्दा अलि आधुनिक शैलीको छ, मन्त्रालयको संगठन ठुलो भएकाले पनि नयाँ भवन बनाइएको हो,’ उनले भने, ‘यसमा ठुलो मिटिङ हलसमेत भएकाले सिंहदरबारभित्रका अन्य मन्त्रालयहरूबाट पनि बैठकका लागि बाहिर जानुपर्दैन ।’ भवनको बाहिरी तथा भित्री डिजाइन पनि अन्य सरकारी कार्यालयभन्दा फरक शैलीको छ । 

५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको हो ।  माउन्टेन–सत्येश्वर जेभीले २८ कात्तिक ०७९ देखि निर्माण थालेको थियो । १५ जेठ ०८२ सम्म सम्झौता अवधि रहेकोमा त्यसअघि नै निर्माणको काम सकिएको छ । ‘सम्झौता अवधिमै भवन निर्माण भएको छ, यही आर्थिक वर्षभित्र सर्ने हाम्रो योजना छ,’ डा. आचार्यले भने, ‘मन्त्रालयले नयाँ भवनका लागि फर्निचरको टेन्डर प्रक्रिया पनि अघि बढाइसकेको छ ।’ गृह मन्त्रालय नयाँ भवनमा सरेसँगै सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालयलाई पनि सिंहदरबारभित्र सार्नेबारे छलफल भइरहेको छ ।