
पूर्वमहिला क्रिकेट खेलाडीहरूबिच भैरहवामा सम्पन्न ‘महिला लेजेन्ड टी–२० सिरिज’ सन् २००९ को टिमले हात पारेको छ।
मुलुकमै पहिलोपटक महिला लेजेन्डबिच भैरहवामा दुईदिवसीय स्पर्धा भएको थियो। जसमा दुवै खेल जित्दै सन् २००९ को टिमले सिरिज आफ्नो पक्षमा पारेको हो। मंगलबार सिद्धार्थ क्रिकेट मैदान, भैरहवामा सम्पन्न सिरिजमा सन् २००९ को लेजेन्ड महिला टिमले सन् २००७ को टिमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सन् २००९ को टोलीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १४१ रन बनायो । जसमा करुणा भण्डारीले ३२, रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा निमा तामाङ र खिनाकुमारी थापाले समान १०–१० रन बनाए। बलिङमा सन् २००७ का नेरी थापामगरले ३, सुस्मिता चौधरीले २ र नितु थापाले १ विकेट हात पारे।
जवाफी ब्याटिङ गर्ने क्रममा सन् २००७ को टिमले ८ विकेट गुमाएर ६८ रन मात्रै बनायो। टोलीका लागि निरा राजोपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा सन् २००९ को टिमकी सरस्वती पुन र सीता शाहीले २–२ तथा रितु कनौजिया र करुणा भण्डारीले समान १–१ विकेट लिए।
प्रतियोगितामा सन् २००८ की करणा भण्डारीलाई बेस्ट बलरको पुरस्कार प्रदान गरियो। यस्तै, सहभागी सबै खेलाडीहरूलाई मायाको चिनोले प्रोत्साहन गरिएको आयोजकले जनाएको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिंकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज भएको हो।
सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरूको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको थियो। नेपालमा पुरुष लेजेन्ड क्रिकेट हुँदै आए पनि महिला लेजेन्ड क्रिकेट भने पहिलोपटक आयोजना गरिएको हो।