
सरकारले खेती खुला गर्ने तयारी गरिरहेको गाँजा कस्तो लागुऔषध हो ?
सन् १९६१ को युएस कन्भेन्सनले सबै प्रकारका लागुऔषध उत्पादन, ओसारपसार, बिक्री–वितरण र सेवनलाई विश्वव्यापी रूपमै प्रतिबन्ध लगाएको हो । नेपालमा पनि लागुऔषध नियन्त्रण ऐन २०३३ ले यसमाथि प्रतिबन्ध लगाएको हो । औषधि र अनुसन्धान प्रक्रियाका लागि त विश्वव्यापी प्रक्रिया पूरा गरी अनुमति लिएर खेती गर्न अहिले नै पनि सकिन्छ ।
सरकारले किन कानुनी रूपमै गाँजाखेती खुला गर्न खोजिरहेको छ त ?
मैले पनि यो बुझ्न सकिरहेको छैन । औषधि र अनुसन्धान प्रयोजनका लागि अहिले नै पनि निश्चित प्रक्रिया पूरा गरेर खेती गर्न र निर्यात गर्न बन्देज छैन । तैपनि, औषधीय प्रयोजनका नाममा गाँजाखेती खुला गर्ने बहस चलिरहेको छ । यहाँ गाँजाखेती गरेर अर्बपति बन्न सकिने गलत ‘न्यारेटिभ’ फैलाइएको छ । यस्तो कानुन निर्माण गर्नुअघि लागुऔषधसम्बन्धी काम गर्ने सरकारका सम्पूर्ण निकायका पदाधिकारी, गृह मन्त्रालयका अधिकारी, संसद्का सम्बन्धित विषय समितिका प्रतिनिधि, आयुर्वेद विभागका अधिकारीलगायतको टोलीले गाँजाखेतीलाई वैध बनाउने भारतको पहिलो राज्य उत्तराखण्ड गएर त्यहाँको गाँजाखेती, त्यसका फाइदा–बेफाइदालगायत सबै पक्षको गहिरो अध्ययन गरे पुग्छ ।
गाँजाको व्यावसायिक निर्यातको सम्भावना कति छ ?
गाँजाको व्यावसायिक रूपमा उत्पादन गरेर दुनियाँभर कहीँकतै निर्यात गर्न सकिन्न । गाँजाखेती वैध हुनुपर्छ भन्नेहरूले अमेरिकाको उदाहरण दिने गरेका छन् । तर, अमेरिकामै पनि गाँजा सबै राज्यमा खुला छैन । त्यहाँ एउटा राज्यको गाँजाका कारण अर्को राज्यमा अपराध र दुव्र्यसन बढेको जस्तो आरोपमा मुद्दा चलिरहेका भेटिन्छन् ।